गान्तोक: दक्षिण सिक्किमको मल्ली निर्वाचन क्षेत्रमा राई जातिको भाषा, साहित्यिकको विकास र प्रवर्द्धन सितै संस्कृति र परम्पराको संरक्षणका लागि काम गर्ने विशेष उद्देश्यका साथ स्थापित राई संगठनको समिति विस्तार गरिएको छ। १६ मार्च, २०२१ मा स्थापित यो संगठनको अध्यक्ष पदमा डम्बरकुमार राई, महासचिव पदमा सुरज राई र मुल सल्लाहकार पदमा मुख्यमन्त्रीकी अतिरिक्त राजनैतिक सचिव अञ्जिता राजालिम चुनिएका छन् जसले कुल १७ जना कार्यकारी सदस्यलाई साथमा लिएर आगामी तीन वर्ष संगठनलाई नेतृत्व दिनेछन्। नयाँ समिति गठनका लागि आज सोमबार मल्लीको लुङ्चोक कमेरेमा एउटा कार्यक्रम आयोजना गरिएको थियो जसमा मुख्यमन्त्री पीएस गोलेका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिका रुपमा उपस्थित थिए। जानकारी गराइन्छ, मल्ली निर्वाचन क्षेत्रमा राई जातिको जनसंख्या ६००० भन्दा अधिक रहेको छ जसमध्ये ४०० परिवारले क्षेत्र स्तरीय समितिमा सदस्यता ग्रहण गरिसकेको बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै समारोहका मुख्य अतिथि तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले राई जातिको समग्र हितलाई ध्यानमा राखेर गठन गरिएको समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे। विगतमा राई जातिका मानिसहरूले कम से कम आफ्नो भाषा बोल्ने सक्ने क्षमता राखेका भएपनि अहिले आएर सबैले भाषा भुल्दै गएका कारण भाषा सिक्नुपर्ने आवश्यकता बढ्दै गएको बताए। उनले राई भाषा शिक्षक नियुक्त भएका र कतिपय स्थानमा भाषा शिक्षकको माग बढ्दै गएको कारण नयाँ पद सिर्जना गरेर लगभग २० जना राई भाषा शिक्षक नियुक्ति गरिने जानकारी दिए। शैक्षिक तथा आर्थिक रुपमा सिक्किमका राई जाति पछि परेको बताउँदै यसका पछि के कारणहरू छन् त्यसको तथ्य खोज्नुपर्ने बताए। वर्तमान सरकारले आर्थिक रुपमा विपन्न परिवारका मेधावी विद्यार्थीलाई एमबीबीएस पढ्ने निःशुल्क सुविधा दिन शुरु गरेको कारण पछि परेको समुदायलाई अघि बढ्ने अवसर आएको बताए। यसका साथै उनले गरीब परिवारका मेधावी विद्यार्थीको खोजी गरेर उनीहरूलाई प्रोत्साहन गराउने मानिसहरूलाई सुझाउ दिए। जातीय हितका लागि राई जातिको मुन्धुम जान्ने व्यक्तिहरू बढाउनुपर्ने साथै एकेआरएसलाई अझै सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको बताए। संगठनको समग्र हितलाई ध्यानमा राखेर नयाँ संगठनले सरकारसँग मिलेर काम गर्नुपर्छ भन्दै तथापि व्यक्तिगत सतरमा भने मानिस स्वतन्त्र निर्णयमा रहनसक्ने पनि बताए। एसकेएम सरकारको गठनपछि राङ्कामा पारुहाङ साप्तेन माङ्खिमको निर्माण कार्य पूरा गरिएको, तादोङमा राई खिमको निर्माण कार्य अन्तिम चरणमा पुगेको, आरिटार-दलपचन्दमा नयाँ माङ्खिम निर्माण प्रस्ताव सरकारले स्वीकृति दिएर धनराशि छुट्याएको, बैगुनेको रोदुङखिमको नयाँ ढाँचा स्वीकृत गरेर निर्माण प्रक्रिया अघि बढाएको, परेङ गाउँमा २० करोड रुपियाँ भन्दा अधिकको माङ्खिम साथै भाषिक तथा सांस्कृतिक केन्द्र निर्माण शुरु भएको जानकारी दिँदै सरकारले राई जातिको उत्थान र विकासका अन्य गतिविधि पनि अघि बढाएको बताए। यस बाहेक युवा पुस्ताको व्यक्तित्व विकासका क्षेत्रमा पनि एसकेएम सरकारले विविध कार्यक्रम आयोजना गर्ने भएको जानकारी दिए। अखिल किरात राई संघ (एकेआरएस) केन्द्रिय कार्यकारी समितिका सदस्य डा. एसके राईले मल्लीमा पनि केन्द्रिय समितिको शाखा गठन गर्ने सुझाउ दिए। एकेआरएसका सल्लाहकार भोजराज राईले धर्म र पार्टीमा विभाजन नभइ राई जातिको पहिचान स्थापित गराउने दिशामा काम गर्न आग्रह गरे। नयाँ समितिलाई एकेआरएसमा सम्बद्ध भएर काम अघि बढाउने उनले सुझाउ दिए। नवगठित समितिकी सल्लाहकार तथा मुख्यमन्त्रीकी अतिरिक्त राजनैतिक सचिव अञ्जिता राजालिमले व्यक्तिगत स्वार्थका कारण संगठनमा विभाजन ल्याउने काम कसैले पनि गर्नु नहुने बताइन्। उनले नयाँ समिति मार्फत विपन्न परिवारका मानिसहरूलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउने जानकारी दिइन्।
कार्यक्रम अवसरमा बोल्दै अध्यक्ष डम्बर कुमार राईले मल्ली निर्वाचन क्षेत्रमा राई संगठन स्थापना गर्नुको मूल उद्देश्य माथि प्रकाश पारे। उनले क्षेत्रमा रहेका सबै राई परिवारलाई संगठनको उद्देश्यपूर्तिका लागि एकजुट हुन पनि आग्रह गरेका छन्। संगठनलाई राजनीतिदेखि अलग राखेर राई जातिको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै एकजुट नभए जाति हितका कार्य सम्भव नहुने बताए। क्षेत्रमा एउटा राई भवन निर्माण गर्ने साथै भाषा शिक्षक नियुक्त गरिने योजना रहेको अध्यक्ष डम्बर कुमार राईले जानकारी दिएका छन्। पारुहाङ साप्तेन माङ्खिम कमिटीका अध्यक्ष मोहन दुङमालीले अखिल किरात राई संघको स्थापना, यो गठन गर्नुको मूल उद्देश्य र संघले गरेका कार्यबारे जानकारी दिए। कार्यक्रम अखिल किरात राई संघका प्रतिनिधिहरू, विभिन्न राई संघका सदस्यहरू साथै मल्ली निर्वाचन क्षेत्रका राई जातिका सदस्यहरूको सहभागिता रहेको थियो। यस अवसरमा विभिन्न टोलिका कलाकारहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।