काठमाडौंः नेपाली चलचित्र क्षेत्रमा निरन्तर लागि परेको नाम हो ध्रुव न्यौपाने। हेटौंडा स्थायीघर भएका उनी व्यवसाय र कलाकारिता हुँदै निर्माता बन्न पुगेका छन्। आगामी जेठ २ गते(१६ मई)देखि सिनेमाघरमा आउन लागेको एक्सनप्रधान चलचित्र ‘नरसिंहा अवतार’का उनी निर्मातामध्येका एक हुन्। यो उनले निर्माण गरेको पहिलो चलचित्र भने होइन। यसअघि उनले ‘हिरो रिर्टन्स’ र ‘मायावी’ जस्ता चलचित्र निर्माण गरेका छन्। नयाँ चलचित्र ‘नरसिंहा अवतार’बाट उनी आशावादी देखिएका छन्।
‘चेतना कन्स्ट्रक्सन’ नामक ‘क’ वर्गको निर्माण कम्पनी र होटल मुनस्टारमा सह-लगानीकर्ता समेत रहेका उनी नेपाली कला क्षेत्रमा पनि निरन्तर रहेका छन्। व्यावसायिक पृष्ठभूमिका उनको बाल्यकालदेखि नै हिरो बन्ने रहर थियो। उनले ५० भन्दा बढी गीतका भिडियोमा पनि अभिनय गरेका छन्। यस्तै उनी ‘प्लान’, ‘सन्त्रास’, ‘पायल’जस्ता आधा दर्जन चलचित्रमा पनि देखिएका छन्।
यतिवेला प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नरसिंहा अवतार’ले बक्स अफिसमा राम्रो गर्नेमा ध्रुर्व विश्वस्त छन्। ‘अब म निर्मातामात्रै होइन, मेरो चलचित्र करिअरको दोस्रो इनिङमा राम्रो प्रोडक्सन हाउस सञ्चालन गर्ने योजना पनि लिएर आएको छु। लाइट आइसकेको छ, क्यामरा आउँदैछन्,’ उनी भन्छन्। प्रोडक्सन हाउसबाट हरेक वर्ष एउटा चलचित्र निर्माण गर्ने उनको योजना छ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नरसिंहा अवतार’बाट नायक राजेश हमालले आठ वर्षपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्दै छन्। यसकारण पनि यो चलचित्र विशेष र प्रतीक्षित मानिएको छ।
नेपाली चलचित्रको इतिहासमै सबैभन्दा लामो पोष्टर केही दिनअघि एक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो।
चलचित्रमा राजेशको अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायत कलाकार अभिनय छ।
राजुविक्रम थापाले खिचेको यो चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ। पोष्टरको डिजाइन राकेश दाहालले गरेका हुन्।
चलचित्रमा ध्रुवसहित दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र नेम महर्जनको लगानी छ।
करणसिंह प्रोडक्सन डिजाइनर रहेको यो चलचित्रका एसोसिएट निर्देशक वसन्त अधिकारी हुन्।