२५ मईः गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले इण्डियन प्रीमियर लीग (आईपीएल)-को क्वालीफायर १-मा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेपछि आफ्ना खेलाड़ीहरूका भरपूर प्रशंसा गरे। रोयल्सले दिएको १८९ रनको लक्ष्यलाई खेदो गर्दै टाइटन्सले डेविड मिलर (अविजित ६८) र कप्तान पाण्ड्या (अविजित ४०)-बीच चौथो विकेटको निम्ति १०६ रनको अटूट साझेदारीको दममा ३ बल बाँकी रहँदै ३ विकेटको नोक्सानमा १९१ रन बनाएर जीत हासिल गऱ्यो। मिलरले ३८ बलको विध्वंशी ईनिंग्समा ५ वटा छक्का र ३ वटा चौका लगाए। उनले अन्तिम ओभरको पहिलो तीन बलमा लगातार तीन छक्का लगाएर टीमलाई चमत्कारी जीत दिलाए। पाण्ड्याले २७ बल खेलेर ५ वटा चौका लगाए। टाइटन्सबाट शुभमन गिल (३५) र म्याथ्यू वेड (३५)-ले पनि असल ब्याटिंग गरे। यसअघि रोयल्सले जोस बटलर (८९) र कप्तान सञ्जु सेमसन (४७)-को असल ब्याटिंगको दममा ६ विकेट गुमाएर १८८ रनको दह्रिलो स्कोर बनायो।
म्याचपछि पाण्ड्याले भने, मलाई गर्व छ कि टीममा सामेल सबै २३ जना खेलाड़ी अलग छन्। उनीहरू सबैले म्याचमा अलग कुराहरू ल्याउँछन्। तपाईं वरिपरि असल व्यक्तिहरू रहै असल परिणाम हासिल हुन्छ अनि मैले मिलरलाई त्यही भने। अन्तिम एकादशमा सामेल नरहने खेलाड़ीहरू पनि टीमले असल प्रदर्शन गरोस् भन्ने चाहन्छन् अनि यो कुरा म देख्न सक्छु। राशिदले पूरा टुर्नामेण्टको अवधि असाधारण प्रदर्शन गरे तर मलाई मिलरमाथि अधिक गर्व छ। हामीले खेललाई सम्मान गर्नु पर्छ। मुम्बई इण्डियन्स विरुद्ध हामीले गल्ती गरेका थियौं। यसैकारण यहाँ हामी खेललाई सम्मान दिन चाहन्थ्यौं। हामी दुवै म्याच समाप्त गर्न चाहन्थ्यौं।
यसबीच रोयल्सका कप्तान सेमसनको भनाइअनुसार, उनी स्कोरसँग त खुशी थिए तर टसले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। उनले भने, म स्कोरसँग खुशी थिएँ। विकेट ब्याटिंगको निम्ति त्यति राम्रो थिएन। बलरहरूलाई सहायता प्राप्त भइरहेको थियो। पावरप्लेमा स्विंग पनि हासिल भइरहेको थियो। बल रोकिएर आइरहेको थियो भने बाउन्स पनि एकथरीको थिएन। भाग्यले गर्दा हामीले पावरप्लेमा केही रन बनायौं। यस्तो स्थितिमा १८८ रन राम्रो स्कोर थियो। दोस्रो ईनिंग्समा चाहिँ विकेट ब्याटिंगको निम्ति असल भयो। हामी असल क्रिकेट खेलिरहेका छौं। भाग्य र टसको महत्त्वपूर्ण भूमिका रह्यो तर हामी त्यही कुराहरूमा ध्यान दिन सक्छौं, जुन हाम्रो नियन्त्रणमा हुन्छ।