अब सांस्कृतिक पर्यटनलाई अघि लानु समयको मांग हो: अनोश थापा
कालेबुङ: जीटीएको सूचना एवम् सांस्कृतिक विभागद्वारा आज कालेबुङको रामकृष्ण रङ्गमञ्चमा आयोजित समारोहबीच लोक साहित्य, लोक संगीत, संगीत , नाटक, चित्रकारिता अनि पत्रकारिता विधामा दार्जीलिङ पहाडका ६ जना स्रष्टाहरुलाई विविध पुरस्कारहरूले अलङ्कृत गरेका छन्। समारोहमा अगावै स्वतन्त्र जुरीद्वारा चयन गरेर पुरस्कार प्रापकहरूको नामको घोषणा गरिएको थियो। अाज ती व्यक्तिहरूलाई जीटीएको सूचना अनि सांस्कृतिक विभागको पक्षबाट पुरस्कार प्रदान गरिएको छ। ती पुरस्कारहरूमा यस वर्ष लोक साहित्यमा चर्चिल सुब्बा (लाटपञ्चर) लाई भानुभक्त सम्मान पुरस्कार, लोक संगीतमा नरबहादुर गुरूङ (सिटोङ)लाई मास्टर मित्रसेन थापा स्मृति पुरस्कार, संगीतमा बसन्त छेत्री (दार्जीलिङ) लाई अरूणा लामा स्मृति पुरस्कार, नाटकमा सीके श्रेष्ठ (कालेबुङ) लाई डीबी परियार स्मृति पुरस्कार, चित्रकारितामा विमल रसाइली (खरसाङ)लाई जी डगलस स्मृति पुरस्कार अनि पत्रकारितामा जोयल राई (नयाँ दिल्ली) लाई पादरी गंगाप्रसाद प्रधान स्मृति पुरस्कारद्वारा अलङ्कृत गरियो। समारोहमा मुख्य अतिथिको रूपमा जीटीए सभाका अध्यक्ष अञ्जुल चौहान उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिहरूमा जीटीए उपाध्यक्ष राजेश चौहान, सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापा, विभागीय एएमओडी सभासद दावा भोटिया, कार्यकारी निर्देशक साम्देन डुक्पा, सह निर्देशकदव्य भानुकान्त घिसिङ र बिमल राई साथै अन्यहरू उपस्थित रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जीटीएको चेयरम्यान अञ्जुल चौहानले हाम्रो गोर्खा जातिको समाजमा धेरैवटा विधामा राम्रो मान्छेहरू हुनु हुँदो रैछ र हामी सिर्जनात्मक तरिकाले अघि जानलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले नयाँ सोचका साथ हाम्रो गोर्खा जातिका हराएका र ओझेलमा परेकाहरूलाई हामी खोजेर निकाल्ने प्रयासमा छौं भनी बताएका छन्। उनले यही प्रयास अनुसार आज जीटीएद्वारा कालेबुङमा यो पुरस्कार अलङ्करण समारोह आयोजना गरेको भन्दै हामी ओझेलमा परेकाहरूलाई खोजी निकाल्न चाहान्छौं भनी बताएका छन्।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले आफ्नो सम्बोधनमा अब सांस्कृतिक पर्यटनलाई अघि लानु समयको मांग हो भनी बताएका छन् । उनले सांस्कृतिक पर्यटन विषयमा हामी एक्सपर्टहरूसित कुरा गरिहेका छौं र यसले हाम्रो संस्कृतिलाई सम्बर्ध्दन गर्छ भने सांस्कृतिक पर्यटनले बेरोजगारी समस्याको समाधान पनि गर्छ भनी बताएका छन्। थापाले भने, वर्तमानका युवा पुस्ताकाहरूले सामाजिक सञ्जालमार्फत् साहित्य, संगीत र अन्य विधालाई अघि लगेर गएको छ। हामी साहित्य संगीत र संस्कृति भन्छौं तर अब यसलाई सम्बर्ध्दन गर्नलाई उपाय खोजी निकाल्नुपर्छ अनि यसलाई व्यवसायिक बनाउनुपर्छ जसको कारण यसलाई अब सांस्कृतिक पर्यटनको रूपमा अघि लानुपर्छ।