काठमाडौं: नेपाली चलचित्र उद्योगमा ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता समाजिक रंगमंचमा सफल चलचित्र दिन सफल निर्देशक दीपेन्द्र के खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ अहिले प्रदर्शनको तयारीमा छ।
मई १६देखि प्रदर्शनमा आउने चलचित्रले घर र डेराको कथाले घर र डेरोबीचको फरक बसाइले पारेको प्रभावको कथा भन्नेछ। घर र डेराका कारण समाजले जबरजस्त निर्धारण गर्ने समाजिक मान्यताको कथा-व्यथाबारे चित्रण गरेको छ।
घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवाहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको उत्तरार्धमा के पर्छ यसबारे पनि ‘के घर के डेरा: घर नं. २’मा निर्देशक खनालले पात्रहरु मार्फत भनेका छन्।
घर र डेराको कथा भन्दा सिनेमामा को हो डेरावाल र को हो घरभेटी? चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे लगायत कलाकारहरु मुख्य भूमिकामा छन्। यी मध्ये चलचित्रमा को घरभेटी र को डेरावाल हुन्?
पोस्टरमा सबैको उस्तैउस्तै लुक्स छ। तर, एउटा पोस्टरमा खगेन्द्र साइकल डोर्याइरहेका छन्। टिजरले पनि खगेन्द्रलाई दु:खी पात्र देखाएको छ।
त्यसैले खगेन्द्र डेरावाल हुन् कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ। यदि, उनी डेरावाल हुन् भने घरभेटी आर्यन हुन् कि निश्चल यसबारे निर्देशकले केही जानकारी दिएका छैनन्।
निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताए पनि कथा घर र डेराको रहेको बताउँछन्। सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुँन्। उनको यो पहिलो सिनेमा हो।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।
कृष्णबहादुर थापाले सिनेमाको छायाँकन रहेको छ। ‘के घर के डेरा : घर नं २’को निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुँन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।