तीनधारे: खरसाङ पञ्चायत समितिले एकजुटता देखाएर राम्रो काम गरेर एउटा असल उदाहरण प्रस्तुत गरेका छन्। हानाथाप नगरी एकै ठाउँ विकास गर्दा राम्रो काम हुन्छ भन्ने उदाहरण प्रस्तुत गरिएको छ जुन इतिहास बनेको छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले तीनधारे महानदी समष्टिको दुई नम्बर बस्तीमा खरसाङ पञ्चायत समितिद्वारा निर्माण गरिएको हर्नबील पार्क र स्काई टावरको उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उक्त कुरा बताएका छन्। उनले पञ्चायत चुनाव नहुँदा हामीले धेरै गुमाएका थियौँ तर अहिले पहाडमा पञ्चायतको बोर्ड भएपछि पञ्चायत क्षेत्रमा राम्रो विकासको कार्य भईरहेको छ भनी बताएका छन्। उनले पञ्चायत क्षेत्रमा कम्ती पैसामा राम्रो काम गर्न सिकाएको छ अनि पञ्चायती प्रणालीमा नेतृत्व निर्माण गर्नलाई मञ्च प्रदान गरेको छ भनी बताएका छन्। उनले भने, ‘खरसाङ पञ्चायत समितिले एकजुटता देखाएर राम्रो काम गरेको छ। यसपाली तीनधारेमा बनियो। अर्को पाली अर्को ठाउँमा बनिन्छ। हामीले यो क्षेत्र मेरो, यो पैसा मेरो भन्ने छोड्नुपर्छ। पैसा सबै सरकारको हो। पञ्चायत समितिमा को ठूलो को सानो होइन तर सबै मिलेर काम गर्नुपर्छ। तब काम फलदायक हुन्छ। पञ्चायतमा पनि सबैजना मिलेर काम गर्नुपर्छ। नियममा रहेर काम गर्नुपर्छ। तब राम्रो काम बन्दै जानेछ।’
जीटीए प्रमुख कार्यपाल अनित थापाले पञ्चायत क्षेत्रमा घरहरु बनाउँदा पञ्चायतबाट प्लान पास गरेर गर्नुपर्छ जुन नितान्त आवश्यक छ र यस विषयमा जनतालाई बुझाउन आवश्यक छ भनी बताएका छन्। यस विषयमा उनले भने, ‘घर बनाउँदा प्लान पास गरेर बनाउनुपर्छ त यस विषयमा विषयमा जनतालाई बुझाउन सक्नुपर्छ। सरकारको नियममा बसेर घर बनाउन सके कागज पत्र सही हुन्छ। पञ्चायत समिति र पञ्चायतलाई निवेदन छ कि घर बनाउँदा प्लान पास गरेर बनाउन जोड दिइयोस्। यस विषयमा सचेतनामूलक सेमिनारहरु आयोजना गरेको राम्रो हुन्छ। जनताको घर बनाउँदा कम पैसामा प्लान पास गराएर कार्य गरिनुपर्छ। अब एउटा मिशन लिएर हरेकको घर प्लान पास गराएर गर्नुपर्छ। यसले जनतालाई भविष्यमा काम लाग्छ। होटलहरु प्लान पास गराएर नै निर्माण हुन्छ। अब घर निर्माण गर्दा पनि प्लान पास गराएर नै गर्नु हवस राम्रो हुनेछ। पञ्चायत समिति र पञ्चायत सदस्यहरुले आफ्नो कार्यकालमा पहाडको प्रत्येक घरको प्लान पास होस् अनि घरको कागज पत्र बजियोस्।’
उनले अघि भने, ‘पञ्चायत समिति, पञ्चायतका सबै निर्वाचित सदस्यहरु र अधिकारीरु र कर्मचारीहरु हामी३एक परिवार हौं र मिलेर काम गर्नुपर्छ। यो परिवारले पहाडमा संस्कार परिवर्तन गर्नुपर्छ।’