बाहिरबाट आएका लेवरहरुले गरेको कामहरु रोक्ने निर्णय
सोनादा: विगत लामो समयदेखि कार्य गर्दै आईरहेको सोनादा असुरक्षित लेवर युनियनलाई विघटन गरेर नयाँ नाम दिइएको छ। यस विषयमा चर्चा परिचर्चा गर्नलाई लेवर युनियन केन्द्रीय समितिको सभा सोनादामा सम्पन्न भएको छ। उक्त सभामा सोनादा असुरक्षित लेवर युनियनको पदाधिकारीहरु लगायत पूर्व सभासद महेन्द्र प्रधान, सुमन तामाङ, मनखुस राई, शुकदेव राई, बविन्द्र राई लगायत अन्यहरु उपस्थित रहेका थिए। यसै सभामा नै सोनादादेखि बाहिरतिर पनि लेवरहरुका पक्षमा कार्य गर्नलाई सोनादा असुरक्षित लेवर युनियनलाई विघटन गरेर नयाँ कमिटी ‘गोर्खा हिमालयन लेवर युनियन’ गठन गरिएको छ। यस नयाँ लेवर युनियनले अब सोनादादेखि बाहिर पनि दार्जिलिङभरि नै लेबरहरुको पक्षमा कार्य गर्ने भएको छ। यस विषयमा सभापति राजेन तामाङ र सचिव कुन्जुला तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले आज सोनादामा पत्रकार सम्मेलन गरेर सोनादा असुरक्षित लेवर युनियनले विगतमा लेबरहरुको लागि धेरै कार्य गरेको र विभिन्न सामाजिक कार्यहरु पनि गरेको जानकारी गराएका छन्। दुवैले बताए अनुसार अब यस संगठनले सोनादा क्षेत्रमा लेबरहरुको लागि डटेर कार्य गर्ने भएको बताएका छन्। उनीहरुले सोनादा क्षेत्रमा बाहिरबाट आएका लेवरहरुले कार्य गरिरहेकोले स्थानीय लेवरहरुलाई धेरै समस्या भईरहेको बताएका छन्। अब लेवर युनियनले सोनादा क्षेत्रको प्रत्येक शाखामा १५ मा एक दिन भ्रमण गर्ने र स्थानीय लेवरहरु नभएर बाहिरका लेवरहरु छन् भने काम रोक्ने पनि बताएका छन्। उनीहरुले सोनादा क्षेत्रमा बाहिरबाट आएका लेवरहरुले गर्दा धेरै खतरा उत्पन्न भईरहेको पनि जानकारी गराएका छन्। यस कार्यमा मालिकहरुले पनि बुझिदिने अनुरोध गरेका छन्।