मुम्बई: मुम्बई इण्डियन्सले आईपीएल २०२५-को ४५औं म्याचमा लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-लाई ५४ रनको ठूलो अन्तरले पराजित गऱ्यो । पाँचपल्टका च्याम्पियन मुम्बई इण्डियन्सको यो लगातार छैटौं जीत हो अनि यस जीतको साथै हार्दिक पाण्ड्याको कप्तानीमा रहने टीम १० वटा म्याचमा १२ पोइण्ट्सको साथ दोस्रो स्थानमा पुग्यो। यसरी एलएसजी १० पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ। वानखेड़े स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो। विशाल लक्ष्यलाई पीछा गर्दै एलएसजी २० ओभरमा १६१ रन बनाएर अलआउट भयो। जसप्रीत बुमराह र ट्रेण्ट बोल्टले उत्कृष्ट बलिंग गरेर लखनऊको हार सुनिश्चित गरे। लखनऊको शुरुवात असल रहेन अनि एडन मार्करम केवल ९ रन बनाएर आउट भए। त्यसपछि मिचेल मार्श, निकोलस पूरन, अयुष बदोनी र डेविड मिलरले प्रयास गरे पनि कसैले अर्द्धशतकसम्म पनि बनाउन सकेनन्। बदोनीले २२ बल खेलेर सर्वाधिक ३५ रन बनाए। मार्शले ३ वटा चौका र २ वटा छक्काको साथ २४ बलमा ३४ रन बनाए। पूरनले २७ र मिलरले २४ रनको योगदान दिए। कप्तान रिषभ पन्त केवल ४ रन बनाएर आउट भए। मुम्बईका बलरहरूमा बुमराहले सर्वाधिक ४ विकेट लिए। यसबाहेक बोल्टले ३ र विल ज्याक्सले २ विकेट लिए। यसअघि रेयान रिकेल्टन (५८) र सूर्यकुमार यादव (५४)-को अर्द्धशतकले मुम्बई इण्डियन्सलाई विशाल स्कोरसम्म पुऱ्यायो। ओपनर रोहित शर्मा (१२ रन) शुरुमै आउट भएपछि रिकेलटनले विल ज्याक्स (२९ रन) – सँग मिलेर दोस्रो विकेटको निम्ति ५५ रनको पार्टनरशीप गरी स्कोर ८८ रनसम्म पुऱ्याए। रिकेलटनले ६ वटा चौका र ४ वटा छक्काको साथ ३२ बलमा ५८ रन बनाए। रिकेलटन र ज्याक्स आउट भएपछि सूर्यकुमारले जिम्मेवारीको साथ खेले। तिलक वर्मा (०६) र कप्तान हार्दिक पाण्ड्या (०५ रन) लगातार आउट भए पनि सूर्यकुमारले ४ वटा चौका र ४ वटा छक्काको साथ २८ बलमा ५४ रन बनाए। अन्तिम ओभरहरूमा नमन धीर अविजित (२५) र कोर्बिन बश (२० रन) – ले मिलेर स्कोर २१५ रनसम्म पुऱ्याए। लखनऊका बलरहरूमा मयंक यादव र अवेश खानले २-२ विकेट लिए। प्लेयर अव् द म्याचको पुरस्कार विल ज्याक्सलाई प्राप्त भयो।