खरसाङ: खरसाङको वार्ड नम्बर १९ स्थित स्प्रिङ साइडको उजेरी बस्तीमा रहेको श्री श्री सातकन्या देवी मन्दिर एंव माँ कात्यायनी धाममा यसपाली ९ दिवसीय ३९औं चण्डी महायज्ञ पूजा सम्पन्न हुने भएको छ। गत वर्षहरुमा झैं यसपाली पनि उक्त श्री श्री सातकन्या देवी मन्दिरमा ९ दिवसीय चण्डी महायज्ञसितै ९ दिन नै हवण यज्ञ पनि हुने भएको छ। यस विषयमा आज श्री श्री सातकन्या देवी मन्दिर पूजा कमिटीले एक पत्रकार सम्मेलन बोलाएर यस मन्दिरमा यसपाली आगामी ४ मईदेखि १२ मईसम्म ९ दिवसीय चण्डी महायज्ञसितै हवण हुने जानकारी गराएका छन्। उक्त पत्रकार सम्मेलनमा पूजा समिति र निर्माण समितिका पदाधिकारीहरु उपस्थित भएर उक्त ९ दिवसीय चण्डी महायज्ञ विषयमा विस्तृत जानकारी गराएका छन्। जानकारी अनुसार यसपाली हुने ९ दिवसीय चण्डी महायज्ञको उदघाटन ४ मईको दिन हुने अनि यसपाली पनि भक्तजनको लागि विभिन्न स्थानहरुबाट प्रसिद्ध सन्तहरुलाई पूजाको लागि बोलाइएको जानकारी गराएका छन्। यस क्रममा ९ मईको दिन १००८ बाबा श्री श्री कालिदास कृष्णनन्द परमहंस महाराज ६ र ७ मईको दिन आउने भएको छ भने १० र ११ मईको दिन प्रथमपल्ट मन्दिरमा अखिल भारतीय किन्नर महासभाका अध्यक्षा किन्नर माता सन्तोषी गिरी माता आउने भएको जानकारी गराइएको छ। यस ९ दिवसीय चण्डी महायज्ञको अवसरमा नै ७ मईको दिन श्री श्री सातकन्या देवी मन्दिर एंव माँ कात्यायनी धामको उप समिति ‘सातकन्या वेलफेयर सोसाइटीको तत्वावधानमा निर्माण हुन लागेको सातकन्या देवी सन्त निवासको शिलान्यास जीटीए प्रमुख अनित थापा र 1008 बाबा श्री कालिदास कृष्णनन्द परमहंस महाराजको बाहुलीबाट शिलान्यास गरिने भएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै श्री श्री सातकन्या देवी मन्दिर एंव माँ कात्यायनी धामको यज्ञाचार्य पंकज प्रसाद र संरक्षक एंव मुख्यकर्ता राजेन प्रधानले उक्त नौ दिवसीय चण्डी महायज्ञमा सबैलाई उपस्थितिको लागि आह्वान् गरेका छन्। दुवैले श्री श्री सातकन्या देवी मन्दिर एंव माँ कात्यायनी धाममा वार्षिक रुपमा पूजा आयोजना भईरहेको र वार्षिक रुपमा पूजालाई बढोत्तरी गर्दै लगिएको बताएका छन्। दुवैले यसपाली पनि भक्तजनको लागि विभिन्न स्थानहरुबाट विभिन्न सन्तहरु बोलाइएको बताएका छन्। श्री श्री सातकन्या देवी मन्दिर एंव माँ कात्यायनी धाम पूजा कमिटीमा सभापति गणेश लामा, सचिव सुवास गुरुङ र कोषाध्यक्षा लक्की प्रधान रहेको जानकारी प्राप्त भएको छ।