सिलगढी: चियापत्ति बनाउने प्रक्रियाको क्रममा सिलगढी फाँसीदेवा घोषपुकुरको एउटा चिया कारखानाको चिमनीबाट निस्केको खरानीले स्थानीय मानिसहरू समस्यासित जुझ्न परिरहेको छ। जानकारी अनुसार गत ४ महिनादेखि उक्त कारखानाको चिमनीबाट निस्केको खरानी स्थानीय मानिसहरूको घरको आँगन, कुवाको पानी लगायत खानेकुरोमा समेत पर्ने गरेकोले यसबारे कारखाना कर्तृपक्षलाई अवगत गराइएका छन्।तर पनि यस समस्या समाधानार्थ हेतु कृतपक्षबाट हालसम्म कुनै पहल भने गरिएको छैन। यसैले आज स्थानीय मानिसहरू भेला भएर कारखाना अघि विक्षोभ प्रदर्शन गर्नको साथै म्यानेजरलाई भेटेर एउटा ज्ञापन पत्र पनि चढाए। स्थानीय मानिसहरूले बताएअनुसार कारखानाको चिमनीबाट निस्केको खरानी कुवाको पानी, घरको समानहरू लगायत खानेकुरामा समेत पर्ने गर्दछ। पहिला कोइलाको सहयोगमा कारखानाको चिमनी चलाउने गर्दथ्यो तर हाल कम्ती खर्चमा धानको भूस जलाएर काम गर्ने गरेकोले गर्दा नै यस प्रकारको समस्या भइरहेको छ। यसैले आज उक्त समस्याबारे कारखानाको म्यानेजरलाई एउटा ज्ञापन पत्र चढाउनको साथै समस्याको समाधानको लागि ७ दिनको समय दिएको तिनीहरूले बताए। आगामी दिनमा उक्त समस्याको समाधान नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने स्थानीय मानिसहरूले चेताउनी दिएका छन्। अर्कोतिर, कारखानाका म्यानेजर तीर्थनाथ ब्यानर्जीले भने, प्रदूषण बोर्डको निर्देशअनुसार चिमनी १२० फिट लामो बनाइएको छ। तरै पनि यस प्रकारको समस्या भइरहेको छ भने त्वरित कार्वाही गरिनेछ।