ललितपुर लगातार च्याम्पियन

IMG-20250427-WA0106

काठमाडौँ: फ्रेन्चाइज फुटबलको उपाधि जित्ने सूत्र सायद ललितपुर सिटी एफसीले तयार पारेको छ। त्यसैले सिटीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि मात्र जितेन, त्यसको रक्षा पनि गर्‍यो। अझ पूरा प्रतियोगितामै कुनै खेल पनि गुमाएन।
जतिबेला नेपालको लिग फुटबलकै कुरा चल्नेछ, कहीं कतै न कतै ‘इन्भिन्सिबल’ ललितपुरको प्रसंग आउने छ। अनि ललितपुरले तयार पारेको सूत्र हो, राम्रो व्यवस्थापन त भयो नै। सँगै खेलाडी र प्रशिक्षकलाई पनि खुसी राख्न सक्नुपर्छ।
‘उपाधि जित्नु मात्र होइन, त्यसको रक्षा गर्नु ठूलै उपलब्धि रह्यो,’ ललितपुरले लगातार दोस्रोपल्ट उपाधि जित्दाका सारथि कप्तान अनन्त तामाङले भने। ‘क्याप्टेन फ्यान्टास्टिक’ को तर्क थियो, ‘यो सबै राम्रो व्यवस्थापनले नै सम्भव भएको हो, खेलाडीले खेलेर मात्र पनि हुन्न।’ प्रशिक्षक साइमन ग्रेसन पनि के कम? उनले पनि आफ्नो टिमका व्यवस्थापनलाई धन्यबाद दिन बिर्सेनन् अनि यो सबैको श्रेय उनले आफूभन्दा पनि खेलाडीलाई दिन चाहे।
खेलाडी र प्रशिक्षकका रूपमा ४० वर्षभन्दा लामो समय बिताइसकेका ग्रेसनले मिडियासामु प्रस्तुत हुने क्रममा भने, ‘मैले धेरै फुटबल देखेको छु, यसबीच पनि यो सफलता मेरा लागि विशेष रहनेछ। म नेपाल आएको उपाधि जित्नकै लागि हो। ७–८ साता जति समय मैले यहाँ बिताएँ होला। म नेपाली खेलाडीको प्रदर्शनबाट प्रभावित छु। मुख्य कुरा नेपाली फुटबलको विकासका लागि यस्तो प्रतियोगिता चाहिन्छ र यसलाई अझ विस्तार र व्यवस्थित बनाउनुपर्छ।’
बायाँबाट क्रमशः सर्वोत्कृष्ट खेलाडी पोखरा थन्डर्सका आयुष घलान, उत्कृष्ट गोलरक्षक पोखराका प्रिसो, सर्वाधिक गोलकर्ता धनगढी एफसीका अहमद हिजाजी, इनर्जेटिक प्लेयर ललितपुर सिटीका मणि लामा र इमर्जिङ प्लेयर ललितपुरकै सन्तोष खत्री। आयुषले २ लाख ५० हजार, प्रिसो र हिजाजीले समान १ लाख ५० हजार तथा मणि र सन्तोषले १–१ लाख रुपैयाँ व्यक्तिगत पुरस्कार पाए। च्याम्पियन ललितपुरले ८० लाख र उपविजेता पोखराले ३० लाख रुपैयाँ पुरस्कार जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement