मुम्बई: पहलगाममा भएको आतंकी हमलामा २६ जनाको मृत्युपछि उत्पन्न भएको राजनैतिक तनाउले गर्दा यस सालको अन्तमा राजगीरमा हुने एशिया कपमा पाकिस्तान पुरुष हकी टीमको भारत यात्रा अनिश्चित बन्न पुगेको छ। पाकिस्तान प्रायोजित आतंकवादीहरूद्वारा निर्दोष पर्यटकहरूमाथि गरिएको हमलाको जवाफ दिँदै भारतले सबै पाकिस्तानी नागरिकहरूलाई जारी गरिएको भीजा रद्द गरेको छ। यस कदमले अगस्तमा एशिया कपको निम्ति पाकिस्तान हकी टीमको भारत यात्रालाई लिएर अनिश्चितताहरू बढ़ेको छ। पाकिस्तान २७ अगस्तदेखि ७ सेप्टेम्बरसम्म बिहारको राजगीरमा खेलिने आठ देशहरूको पुरुष एशिया कपको हिस्सा हो। आतंकी हमलापछि भारत सरकार समक्ष पाकिस्तानसँग सबै सम्बन्धहरू समाप्त गर्ने दबाउ रहेको छ, जसमा खेल सम्बन्ध पनि सामेल छ। यसैकारण भारत सरकारले भारत यात्रा गर्नको निम्ति पाकिस्तान पुरुष हकी टीमलाई अनुमति दिने सम्भावना कम्ती नै रहेको छ।
पाकिस्तान हकी महासंघ (पीएचएफ)-का महासचिव राणा मुजाहिद हालका घटनाक्रमहरूपछि एशिया कपको निम्ति टीमको भारत यात्रालाई लिएर धेर आशावादी छैनन्। उनले भने, हाम्रो हकी इण्डियासँग असल सम्बन्ध रहेको छ तर टीमको यात्रा सरकारमाथि निर्भर गर्छ। हामी आफ्नो सरकारसँग अनुरोध गर्नेछौं। उनीहरूले अनुमति दिए हामी हिस्सा लिनेछौं। उनीहरूले हाम्रो अनुरोधलाई अस्वीकार गरे सम्भावना रहनेछैन। हामी हालको स्थितिसँग अवगत छौं। भारत सरकारले सबै पाकिस्तानीहरूका भीजा रद्द गरेको छ। यस्तो स्थितिमा हाम्रो टीमले भारत यात्रा कसरी गर्नेछ ? जे भए पनि हामी आफ्नो सरकारसँग यात्राबारे अवश्यै सोध्नेछौं। उल्लेखनीय छ, एशिया कप सबै टीमहरूको निम्ति महत्त्वपूर्ण छ कारण यो २०२६ हकी वर्ल्ड कपको निम्ति क्वालीफाईंग इभेण्ट हो, जसको संयुक्त आयोजन बेल्जियम र नीदरल्याण्डले गर्नेछ। २०१४-मा च्याम्पियन्स ट्रफीपछि पाकिस्तानको हकी टीम तीनपल्ट एफआईएच स्तरीय आयोजनहरूका निम्ति भारत आइसकेको छ। यसमा २०१६-मा लखनऊमा जूनियर पुरुष वर्ल्ड कप, २०१८-मा हकी वर्ल्ड कप र २०२१-मा जूनियर वर्लल्ड कप सामेल छ।