खरसाङ: खरसाङको गोर्खा जनपुस्तकालय भवनमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिको सांगठनिक सभा साथै डा. भीमराव अम्बेडकर जयन्ती पालन गरिएको छ। भारतीय संविधानको जनक डा. बाबा साहेब भीमराव अम्बेडकर दिवस पालन गरिएको छ। यस अवसरमा राज्य समिति नेता भुषण मोदक,सिलगढी विभाग उप संयोजक मनोज देवान, जिल्ला अध्यक्ष कल्याण देवान, उपाध्यक्षद्वय एलएम लामा र राजेन मुखिया, महासचिव राजु राई, सोनम लामा, आरबी लामा, युवा मोर्चा नेता चन्दन प्रसाद, दार्जीलिङका संयोजक सुमन प्रधान, युवराज प्रधान, अनुसूचित मोर्चाको राज्य सदस्य राजेश गजमेर लगायत पञ्चायत सदस्य- सदस्याहरु साथै विभिन्न मण्डलहरुबाट आएका भाजपाको पदाधिकारीहरु र कार्यकर्ताहरु उपस्थित थिए। सभा शुरु गर्न अघि काश्मीरको पहलगाम पर्यटन स्थलमा आतंकवादीहरुका गोलीद्वारा ज्यान गुमाउने २८ जना व्यक्तिहरुका स्मरणमा श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरियो। यसको साथै राष्ट्रको निम्ति संविधान रचयिता भारतरत्न डा भीमराव अम्बेडकरको श्रद्धास्वरुप उपस्थित नेतृत्वहरुले द्वीप प्रज्वलन साथै उनको तश्वीरमा माल्यार्पण गरे। भारतीय संविधान (किताब)लाई सम्मान जनाए। भाजपा जिल्ला अध्यक्ष कल्याण देवानको अध्यक्षतामा सम्पन्न सभालाई जिल्ला उपाध्यक्ष एलएम लामा, राज्य कमिटीका नेता भुषण मोदक, सिलगढी विभाग उप संयोजक मनोज देवान, महासचिव राजु राई, खरसाङका नेता आरबी लामा आदिले वक्तव्य राखेका थिए। वक्ताहरुले सभालाई सम्बोधन गर्दै भने- मध्यप्रदेश राज्यको इन्दोरमा दलित ओैं अछुत समाजमा जन्मिएका भीमराव अम्बेडकर स्कूले जीवनकाल जातिगत छुवाछूत र भेदभावको चरम शिकार हुनुपरयो। उनले इन्दोरबाट स्कूले शिक्षा शुरु गरी बम्बई विश्वविद्यालयबाट स्नातकोत्तर गरे भने कम्बोडिया र लण्डन विश्वविद्यालयबाट एकैचोटि वकालती र अर्थशास्त्रमा उच्च शिक्षा हाँसिल गरे। उनले दलित अनि उत्पीडित जातिको निम्ति सामाजिक न्याय र अधिकारको लागि निरन्तर संघर्ष गरे अनि आवाज उठाए। डा अम्बेडकरले भारतको संविधान तयार गर्न महत्त्वपूर्ण भूमिका निभाएका थिए। यसैले उनलाई भारतीय संविधानको जनक मानिन्छ। उनी विधिको ज्ञाता,वरिष्ठ अर्थशास्त्री, समाज सुधारक साथै राजनीतिज्ञ थिए भनी बताएका छन्।
वक्ताहरुले भने, ‘हाम्रो देशको महानतम उपदेष्टा भनेको नै संविधान हो। यही संविधानलाई अनुपालन गरेर नै हामी देशमा विकासका सम्पूर्ण आधार शिलाहरु तय गर्छौ। कानूनहरु लागु गर्छौ। यसैले बाबा साहेबलाई सधैं हामीले श्रद्धासहित सम्झना गर्नु हाम्रो नैतिक जिम्मेवारी हो। आज हामीले पहाडमा पनि उनलाई सम्झना गरेका छौं। सदैव गर्नेछौं।’
वक्तव्यको क्रममा सामाजिक न्यायको उल्लेख गर्दै तर भारतीय गोर्खा जातिले संविधान बमोजिम राजनैतिक न्याय अहिलेसम्म नदिएको सन्दर्भमा चिन्ता प्रकट गर्दै अल्पसंख्यक र पछौटे गोर्खा जातिले पनि भारतीय संविधानलाई सम्मान गर्दै चाँडै न्याय पाउनुपर्ने सवालमा जोड दिएका थिए। स्थानीय सांसद राजु विष्टले उठान गरिरहेका यो मुद्दामा भाजपा राज्य कमिटी नेतृत्ववर्गको समेत सकारात्मक भूमिका हुनुपर्ने अपील गरे।संगठन पर्वमाथि महासचिव राजु थुलुङ राईले भने, भाजपालाई मन पराउनेहरु धेरै छन्। तर सदस्य भएको छैन। उनीहरुलाई सदस्यता गराउने काममा कार्यकर्ताहरुले सम्पर्क अभियान गर्नुपर्छ। सदस्यता भएको खण्डमा मात्रै बुथमा दायित्व दिनु सकिन्छ। मण्डल गठनको प्रक्रिया अघि बढ्नेछ। आगामी ३० अप्रेलभित्र हामीले सबै मण्डल समिति गठन गर्ने लक्ष्य राखेका छौं। यसको लागि पार्टीको सांगठनिक निर्देशन पालन गर्नु सबै भाजपा कार्यकर्ताहरुका मूल जिम्मेवारी रहेको उनले जनाए। सभालाई महिला नेत्री तथा पञ्चायत समिति सदस्या रोमा ठटालले सञ्चालन गरेकी थिइन्।