शिवकुमार राई मूर्धन्य साहित्यकार साथै खरसाङको अग्लो टावर जस्तै हुन्: डा बासुदेव पुलामी
खरसाङ: खरसाङमा साहित्यकार शिवकुमार राईको १०७औं जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको छ। खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा सम्पन्न भएको शिवकुमार राई जन्म जयन्ती समारोहको अध्यक्षता गोर्खा जनपुस्तकालयको अध्यक्ष रबीनकुमार प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रूपमा साहित्यकार एंव प्राध्यापक डा बासुदेव पुलामी उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मातृ एंव शिशु कल्याण विभागको कार्यकारी सभासद कल्पना प्रधान, वरिष्ठ समाजसेवी तिलक शर्मा, वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’, आकाशवाणी खरसाङको पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आले, पूर्व वरिष्ठ उदघोषिका तारा सिन्हा, वरिष्ठ साहित्यकार जीबी बल र जयप्रकाश लामा, शास्त्रीय संगीतको गुरु गोबिन्द सिंह घतानी, वरिष्ठ नाट्य कलाकार बिनोदप्रकाश शर्मा उपस्थित रहेका थिए। शिक्षिका गोमा सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पुस्तकालयको मूल सचिव विनोद रसाइलीले राखेका थिए। सचिव विनोद रसाइलीले आफ्नोे स्वागत सम्भाषणमा अहिले जीटीएले नेपाली भाषामा साइन बोर्डहरु लेख्ने कार्य गरिरहेकोमा गोर्खा जनपुस्तकालय यसको स्वागत गर्दछ भनी बताएका छन्।

उनले हालैमा कश्मीरको पहलगाममा भएको आतंकी हमलाको पुस्तकालयद्वारा घोर भर्त्सना जनाउँदछ भन्दै आतङ्की हमलामा मारिएकाहरुप्रति श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दछौं भनी बताएका छन्। कार्यक्रमको प्रथममा अतिथिहरुका बाहुलीबाट शिवकुमार राईको सालिगमा धूप दीप प्रज्ज्वलन साथै पुष्पाञ्जली अर्पण अनि माला पहिराएर श्रध्दाञ्जली अर्पण गरेर कार्यक्रम शुरु गरिएको थियो। कार्यक्रममा हालैमा जम्मुको पहलगाममा आतंकी हमलामा मारिएकाहरुप्रति श्रध्दाञ्जली अर्पण गर्दै एक मिनटको मौन धारण गरिएको छ। कार्यक्रममा शिवकुमार राईको कथाहरु खरसाङ महाविद्यालयका दुईजना विद्यार्थीहरु क्रमैले सुचिता रावत र धिराज छेत्रीले वाचन गरेका थिए। कार्यक्रममा शिवकुमार राईको जीवनी र कृतिहरु विषयमा वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’ले वार्ता प्रस्तुत गरेका थिए। उनले मूर्धन्य साहित्यकार शिवकुमार राईसितको आफ्नो स्मरण साझा गरेका थिए। पूर्ण गुरुङ ‘निरुपम’ ले आफ्नोे सम्बोधनमा भने, ‘शिवकुमार राईको शिल्प अदभूत छ। त्यसलाई हामीले मान्नैपर्छ। उहाँको कथाहरुले प्रभाव पारेको छ। सबै कथाहरु विश्वासनीय छन् अनि कथाहरु सबै चिर स्थायी छन्। उनले आफ्नो कर्मथलो खरसाङलाई बनाएका थिए र खरसाङले पनि शिवकुमार राईलाई जीवान्त बनाएको छ। संस्थागत र व्यक्तिगत दुवै तरिकाले शिवकुमार राईमाथि काम भएको छ।’

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित डा बासुदेव पुलामीले शिवकुमार राई मूर्धन्य साहित्यकार हुनको साथै खरसाङको अग्लो टावरको रुपमा रहेको र शिवकुमार राई भन्नसाथ खरसाङलाई चिन्ने गरेको बताएका छन्। उनले यस्ता अग्ला व्यक्तिहरु हाम्रा समाजमा नभएका भए हाम्रो समाज यत्तिको अघि बढ्ने थिएन भन्ने अनुभूति हुन्छ भनी बताएका छन्। डा बासुदेव पुलामीले भने, ‘शिवकुमार राई आधुनिक नेपाली साहित्यका एकजना मूर्धन्य साहित्यकार भन्ने वाक्य हामी सबैलाई थाहा छ। यिनका कथा लेखन विषयमा गम्भीर भएर अध्ययन गर्दै जाँदा थुप्रै पाटाहरु पाउँछौं। कथाले के भन्न खोजेको भन्दा पनि कथालाई कसरी भन्नु भन्ने विषयमा जान्न र सिक्नु हो भने शिवकुमार राईका कथाहरु पढ्नुपर्छ। किनभने उनका कथाहरु पढेर नै र उनका कथाहरुमा पदविन्यास हेर्नु हो भने कथाको पक्ति पक्तिमा कथा भनेका छन्। उहाँले आफ्ना कथाहरुमा संक्षिप्त भाषामा थुप्रै कुराहरु भनेका छन्।’

कार्यक्रममा सभाध्यक्ष रबीनकुमार प्रधानले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए। यसै कार्यक्रममा गोर्खा जातीय विभूति उद्यानमा सर सफाईको लागि सराहना गर्दै खरसाङ महाविद्यालयका एनसीसी र एनएसएसका विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ। कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न विद्यालयहरुका विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरु उपस्थित रहेका थिए।