गान्तोक: सिक्किम सरकारको खेलकुद एवं युवा मामिला, शिक्षा र महिला, बाल, जेष्ठ नागरिक एवं दिव्याङ्गजन कल्याण विभागसितको सहकार्य अनि राज्य आपदा प्रवन्धन प्राधिकरण र सिक्किम पुलिसको सहयोगमा स्पेशल ओलम्पिक्स भारत सिक्किम च्याप्टरले आज गान्तोक जिल्लाको रेशिथाङस्थित खेलगाउँमा दिव्याङ्गहरूको निम्ति एक विशेष खेलकुद कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रममा पाज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि रहेका थिए। यसरी नै मन्त्री सामडुप लेप्चा र पुलिस महानिर्देशक अक्षय सचदेवाको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
राज्यपाल माथुरले ओलम्पिक टर्च बालेपछि मन्त्री सामडुप लप्चाले खेलकुद आरम्भ भएको घोषणा गरे। यस विशेष खेलकुद कार्यक्रममा राज्यका सबै ६ वटा जिल्लाका दिव्याङ्ग विद्यार्थीहरूले विभिन्न विदामा सक्रिय सहभागिता जनाएका थिए। विद्यार्थीहरूले खेलकुदसँगै गीत-सङ्गित अनि नृत्यको क्षेत्रमा आ-आफ्नो कला पनि प्रदर्शन गरे। यसै अवसरमा शारीरिकरूपमा असक्षम मनिष ढकाल र निर्मल दाहाललाई सम्मान जनाए। उल्लेखनीय छ, वर्ष २०११ मा ग्रिसमा आयोजित एथेन्स ओलम्पिक विश्व ग्रीष्मकालीन खेलकूदमा मनिष ढकालले उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा पदक हासिल गरेका थिए, जसमा डबल्स प्रतियोगितामा एक रजत पदक र एकल प्रतियोगितामा एक कांस्य पदक रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल माथुरले समाजलाई समावेशी बनाउन हरेक वर्गलाई समान अवसर र सुविधा प्रदान गर्नु आवश्यक रहेको बताए। उनले यस प्रकारको कार्यक्रमहरूले समाजमा समानता र समावेशीकरणलाई प्रवर्द्धन गर्ने र विकसित भारत २०४७ को लक्ष्य हासिल गर्न प्रेरित गर्ने पनि बताए। राज्यपालले शारिरिकरूपमा असक्षम भएका व्यक्तिहरूको प्रयास र उपलब्धिहरूलाई मान्यता दिँदै बलियो र समावेशी भारत निर्माणमा सहयोग गर्ने संस्थाले गरेको प्रयासको प्रशंसा गरे।