खरसाङ: खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर ट्राफिक सुरक्षा र सेफ लाइभ सेभ ड्राइभ विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका ललिता भण्डारी साथै शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरु उपस्थित रहेका थिए। यस सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिस गार्डको प्रभारी बीरेन्द्र छेत्री, सुदिप रोय र स्वेता मण्डल उपस्थित रहेका थिए। विद्यालयका विद्यार्थीहरुलाई लिएर आयोजित ट्राफिक सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिसको तर्फबाट विद्यार्थीहरुलाई ट्राफिक नियम र ट्राफिक सिग्नल विषयमा भिडियोमार्फत् जानकारी गराइएको छ। यसको साथै ट्राफिक सिंग्नल विषयमा विद्यार्थीहरुमाझ क्विजको पनि आयोजना गरिएको जानकारी प्राप्त भएको छ। यस सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले विद्यार्थीहरुलाई सेभ ड्राइभ सेफ लाइभ विषयमा सचेतना गराउँदै ट्राफिक सिंगल विषयमा जानकारी गराएका छन्। उनले विद्यार्थीहरुले स्कुटी बाइक कुदाउन सक्ने तर विद्यार्थीहरुको लाइसेन्स अनिवार्य रुपमा हुनुपर्ने साथै हेलमेट अनिवार्य रुपमा दुवैले लगाउनु पर्ने बताएका छन्। उनले बाइक र स्कुटीहरु बेसी स्पिड कुदाउनु नहुने, ट्राफिक सिंग्नल पालन गर्नु पर्ने बताएका छन्। ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले विद्यार्थीहरुलाई सम्बोधन गर्दै गाडी कुदाउँदा, बाइक र स्कुटीहरु चलाउँदा फोनमा नबोल्नु, फोन आएको खण्डमा साइडमा रोकेर मात्रै फोन उठाउनु पर्ने पनि आह्वान् गरेका छन्।

उनले आफ्नो सम्बोधनमा खरसाङ बजारमा राखिएको कोण क्षेत्रमा पार्किङ नगर्नु पर्ने र कोणभित्र हिँड्ने जनसाधारणको सुरक्षाको ध्यान दिनु पर्ने किनभने बजारमा कोणहरु जनसाधारण हिँडनलाई बनाइएको पनि बताएका छन्। ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले खरसाङ बजारमा गाडी, बाइक र स्कुटीहरु राख्नलाई धेरै असुविधा भईरहेकोले जनसाधारणको असुविधालाई राख्दै सम्बन्धित निकायले खरसाङ बजारमा पार्किङको लागि स्थान उपलब्ध गराइए असल हुनेछ भनी निवेदन पनि गरेका छन्।