सोनादा: सोनादामा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ। बाल कल्याण समूह अप्पर पचेङ, सोनादाको आयोजनामा सोनादा क्षेत्रका विद्यालयहरुलाई लिएर उक्त अन्तर विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। सोनादाको नाली चउर अन्तर्गत नन्द गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा साहित्यकार सूर्य श्रेष्ठ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरी उपस्थित रहेका थिए। युवा साहित्यकार एंव शिक्षक नरेश कटुवालले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण बाल कल्याण समूहको सचिव सुवास राईले राखेका थिए। प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट कार्यक्रमको उदघाटन गरियो। उक्त कविता वाचन प्रतियोगिताको निर्णायकको रुपमा भीमबहादुर गुरुङ, मेघनाथ छेत्री, अमर शर्मा उपस्थित रहेका थिए भने संयोजकको रुपमा रामराज राई उपस्थित रहेका थिए। यस कविता वाचन प्रतियोगिता अन्तर्गत सोनादा क्षेत्रका विद्यालयहरुबाट विद्यार्थीहरुले सिनियर र जुनियर वर्गमा छुट्टाएर पालैपालो कविता वाचन गरेका थिए। यस प्रतियोगितामा सिनियरवर्गमा शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालय प्रथम, ग्रिनहिल अंग्रेजी स्कूल दोस्रो र सोनादा उच्चत्तर माध्यमिक विद्यालय तेस्रो बनेका छन्। त्यसरी नै जुनियर वर्गमा नयाँ कमान माध्यमिक शिक्षा केन्द्र प्रथम, सोनादा उच्चत्तर माध्यमिक विद्यालय दोस्रो र सन्त पिटर सेकेण्डेरी स्कूल तेस्रो भएका छन्।

यसै कार्यक्रममा बाल कल्याण समूहको तर्फबाट समाजमा विभिन्न ओहोदामा रहेका र समाजको उन्नतिमा विशिष्ट योगदान दिने जम्मा ८ जना विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ। यस अवसरमा बाल कल्याण समूहको सभापति अरुण राई र सचिव सुवास राईको बाहुलीबाट सम्मान जनाइएको छ। उक्त कविता वाचन प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै बाल कल्याण समूहको सभापति अरुण राई र सचिव सुवास राईले विस्तृत रुपमा जानकारी गराएका छन्।