विषादी सेवन गरेका पुरुषको मृत्युपछि विराटनगरको नोबेलमा तोडफोड, इन्स्पेक्टर घाइते

IMG-20250425-WA0022

विराटनगर: झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका पुरुषको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज (शुक्रबार) बिहानका राति हुलदंगा एवं तोडफोड भएको छ।
विष सेवन गरेर अवस्था गम्भीर बनेका मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको मृत्यु भएपछि अस्पतालको अवस्था असामान्य बनेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले विष सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।गम्भीर अवस्थाका महतोलाई उपचारका लागि बिहीबार साँझ ५ः३० बजेतिर विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो। कोशीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पताल रेफर गरियो।
नोबेलमा उपचारका क्रममा राति ११ बजेतिर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारमा संलग्न रहेकी पत्नी अनितादेवी महतोले पतिले विष सेवन गर्नुको कारण आफूलाई थाहा नभएको बताएकी छन्। उपचारमा संलग्न चिकित्सकले पनि विषादी सेवन गरेका कारण महतोको मृत्यु भएको जानकारी दिएका छन्।
महतोको मृत्यु भएपछि नोबेल अस्पतालमा ४०–५० जनाको संख्यामा भेला भएका आफन्त एवं छिमेकी शुक्रबार बिहानका राति १ः३० बजेतिर तोडफोडमा उत्रिएका थिए। अस्पतालको आकस्मिक कक्षअगाडि भेला भएका उनीहरुले चिकित्सकको लापरबाहीले महतोको मृत्यु भएको भन्दै होहल्ला र हुलदंगा सुरु गरेका हुन्।
अस्पतालविरुद्ध नाराबाजीमा उत्रिएको समूहले एक्कासि तोडफोड र ढुंगामुढा गर्न थालेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए। उनका अनुसार उत्तेजित भिडले ढुंगामुढा गर्दा ओपीडी प्रवेश गर्ने ढोकाको माथिल्लो भागको सिसा फुटेर क्षति पुगेको छ।
उत्तेजित भिडले ढुंगामुडा गर्दा वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर राजेश दत्त घाइते भएका छन्। दाहिने खुट्टाको घुँडामा चोट लागेका उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दत्तको नोबेलमै उपचार गराइएको छ।स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मदन केसी र वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरिएको थियो। आक्रोसित बनेको भिड पुनः तोडफोडमा उत्रिएपछि अस्पतालको अवस्था तनावग्रस्त बन्न पुग्यो।
भिडले ढुंगामुढा गर्दा अस्पतालको बनाउँदै गरेको नयाँ भवनको ५-६ वटा झ्यालका सिसा फुटेको एसपी चिमरियाले बताए। प्रहरीले सामान्य बल प्रयोग गरेर भिडलाई तितरबितर पारेपछि अवस्था साम्य बनेको थियो।
प्रहरीले ढुंगामुढा र तोडफोडमा संलग्न ७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन। घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी तीव्र पारिएको एसपी चिमरियाले बताए। उनले घटनाको अनुसन्धान भइरहेको जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement