सेरि एः युभेण्टस र अटलाण्टाको ड्र

IMG-20220912-WA0160.jpg

१२ सेप्टेम्बरः इटालियन सेरि ए फूटबलमा आइतवार राति केही असाधारण परिणाम देख्न पाइयो। रोमाञ्च र उत्तेजनाले भरिएको म्याचमा युभेण्टस फेरि ड्र-मा रोकियो। यसरी नै अटलाण्टाले आफ्नो शीर्ष स्थान गुमायो। आफ्नो होम ग्राउण्डमा खेल्दै युभेण्टसले सालेरनिटाना विरुद्ध म्याच जसोतसो २-२-ले ड्र गऱ्यो। म्याचको अन्तिम क्षण निक्कै नाटकीय र रोमाञ्चक रह्यो। स्टपेज टाइममा रेफरीले जम्मा ४ वटा रातो कार्ड देखाए। यसमा युभेण्टसका दुईजना खेलाड़ी अर्काडिउज मिलिक र जुआन क्वाड्राडोको साथमा प्रशिक्षक मासिमिलिआनो अलेग्रीले पनि रातो कार्ड देखे।

यसरी नै सालेरनिटानाका फेडेरिको फेजिओलाई पनि रातो कार्ड देखाइयो। म्याचमा मध्यान्तरसम्म त स्कोर ०-२-ले सालेरनिटानाको पक्षमा रहेको थियो। सालेरनिटानाबाट एण्टोनिओ कानद्रेवाले १८औं र क्रिस्टोफ पिआटेकले स्टपेज टाइमको पाँचौं मिनटमा गोल गरे। मध्यान्तरपछि ग्लिसन ब्रेमरले युभेण्टसलाई पहिलो गोल दिलाए। त्यसपछि लिओनार्दो बेनुचीले स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरी युभेण्टसलाई २-२-को बराबरीमा पुऱ्याए। त्यसपछि मिलिकले स्टपेज टाइममा गोल गरी युभेण्टसलाई जीत पनि दिलाएका थिए तर भीएआर-द्वारा त्यस गोललाई रद्द गरियो। त्यहाँदेखि मैदानमा झ्याउला शुरु हुँदा चारवटा रातो कार्ड देखाइयो। युभेण्टस अहिले ६ वटा म्याचमा १० पोइण्टको साथ सेरि ए टेबलको आठौं स्थानमा रहेको छ। यसरी नै सालेरनिटाना ७ पोइण्टको साथ दशौं स्थानमा रहेको छ।
यसबीच अटलाण्टा र क्रेमोनिसबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। यस म्याचपछि नापोली र अटलाण्टा र एसी मिलानको ६-६ वटा म्याचमा १४-१४ पोइण्ट पुग्यो। गोल अन्तरको आधारमा चाहिँ नापोली पहिलो, अटलाण्टा दोस्रो अनि एसी मिलान तेस्रो स्थानमा रहेको छ।

क्रेमोनिस विरुद्ध जीत हासिल गरेको भए चाहिँ अटलाण्टा सीधै शीर्ष स्थानमा पुग्ने थियो। म्याचमा अटलाण्टाबाट मेरिह डेमिरलले ७४औं र क्रेमोनिसबाट इमेनुएल भालेरीले ७८औं मिनटमा गोल गरे। यसरी नै सिरो इम्मोबिल र लुइस अल्बर्टोको गोलको सहायताले लाजियोले भेरोनालाई २-०-ले पराजित गऱ्यो। लाजियो अहिले ११ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement