ला लीगाः लगातार ५ वटा म्याच जितेर रियल म्याड्रिड शीर्ष स्थानमा

IMG-20220912-WA0143.jpg

१२ सेप्टेम्बरः एक गोलले पछाड़िएपछि असाधारण पुनरागमन गर्दै रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबलमा लगातार पाँचौं जीत हासिल गऱ्यो। ला लीगाको जारी सीजनमा अहिलेसम्म हरेक म्याच जित्ने रियलले आइतवार राति मालोर्कालाई ४-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नाब्यू स्टेडियममा ६९ प्रतिशत पोजेशनको साथ खेले पनि रियल एक समय पछि रहेको थियो। भेदात मुरिकिले ३५औं मिनटमा मालोर्कालाई बढ़त दिलाए। चोटग्रस्त करीम बेञ्जेमाको अनुपस्थितिमा सामान्य दुर्बल देखिने रियल म्याड्रिडले चाँड़ै स्कोर बराबरीमा पुऱ्यायो। फेडेरिको भाल्भर्देले मध्यान्तरको ठीक अघि रियललाई पहिलो गोल दिलाए। त्यसपछि दोस्रो हाफको खेलमा चाहिँ होम टीमले मालोर्कालाई कुनै मौका दिएन। मध्यान्तरपछि रियलको निम्ति विनिसियस जूनियरले ७२औं, रोड्रिगोले ८९औं र एण्टोनियो रुडिगेरले स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरे। यस जीतको साथै रियल म्याड्रिड ५ वटा म्याचमा १५ पोइण्टको साथ फेरि एकपल्ट ला लीगा टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी नै मालोर्का ५ पोइण्टको साथ १३औं स्थानमा रहेको छ।

यसरी नै रियल बेटिसले गत सीजनको प्रदर्शनलाई दोहोऱ्याउँदै भिल्लारियल विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। विजेता टीमबाट एकमात्र गोल रोड्रीले ६१औं मिनटमा छिराए। रियल बेटिस अहिले ५ वटा म्याचमा १२ पोइण्टको साथ तेस्रो अनि भिल्लारियल १० पोइण्टको साथ चौथो स्थानमा रहेको छ। यी दुई टीमले अहिलेसम्म ५-५ वटा म्याच खेलेर केवल १-१ वटा म्याच हारेको छ। एथलेटिक क्लब बिल्बाओले पनि एल्चे विरुद्ध ४-१-ले सजिलै जीत हासिल गऱ्यो। म्याचको पहिलो हाफमै ३-०-ले अघि रहने एथलेटिक क्लब यस जीतपछि १० पोइण्टको साथ पाँचौं स्थानमा रहन पुग्यो। एल्चे चाहिँ १९औं स्थानमा रहेको छ। ला लीगाको अन्य एउटा म्याचमा गेटाफेले रियल सोसिएदादलाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement