खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा राष्ट्रिय पञ्चायतीराज दिवस पालन गरिएको छ। यस अवसरमा महानदी ग्राम पञ्चायत भवनमा एक कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा खरसाङबाट डेपुटी मजिस्ट्रेट दिव्यज्योति बराल विशेष रुपमा उपस्थित रहेका थिए। यसको साथै महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्य कुसाङ लामा र सरिता मुखिया अनि पञ्चायत सदस्य सदस्याहरु साथै आँगनवाडी कर्मीहरु, सहायक कर्मीहरु, स्वनिर्भर दलहरुका सदस्याहरु, भीबीडीसी, आशाकर्मीहरु, महानदी ग्राम पञ्चायतको पञ्चायत कर्मीहरु उपस्थित रहेका थिए। यस कार्यक्रममा डेपुटी मजिस्ट्रेट दिव्यज्योति बरालले आफ्नो सम्बोधनमा पञ्चायतीराज दिवस विषयमा वक्तव्य राखेका थिए। उनले आफ्नो सम्बोधनमा भारत सरकारले प्रत्येक वर्ष २४ अप्रेलको दिन राष्ट्रिय पञ्चायतीराज दिवस भनेर घोषणा गरेको जानकारी गराएका छन्। उनले पञ्चायत चुनाव अघि पञ्चायत क्षेत्रको विकासको लागि कुनै फण्ड नआएकोले विकासको कार्य रोकिएको तर पञ्चायत चुनाव भएपछि पञ्चायतको बोर्ड गठन भएपछि विभिन्न फण्डहरु आएकोले पञ्चायत क्षेत्रको विकास कार्य भईरहेको पनि जानकारी गराएका छन्। यस अवसरमा उनले महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने गाउँहरुको पनि भ्रमण गरेका थिए। यस अवसरमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा जल बचाऊ कमिटीको आईएसओ सोनु थामीले जल जीवन मिशन विषयमा जानकारी गराएका थिए। कार्यक्रम अघि महानदी ग्राम पञ्चायत परिसरबाट रैलीको पनि आयोजना गरिएको थियो।

यसको साथै उपस्थित सबैले आफ्नो आफ्नो क्षेत्रमा स्वच्छता पालन गर्ने प्रण पनि लिएको जानकारी प्राप्त भएको छ। महानदी ग्राम पञ्चायत अन्तर्गत चारवटा गाउँहरु क्रमैले जंगपाना, लेजीपुर (सिविटार), महानदी र गिताङ्गेलाई मोडेल विलेजको रुपमा घोषणा गरिएको छ। यसरी नै महानदी ग्राम पञ्चायत अन्तर्गत गिताङ्गे गाउँलाई सजल गाउँ भनेर लगभग दुई महिना अघि नै घोषणा गरिएको जानकारी महानदी ग्राम पञ्चायतकी सचिव पेन्चेन लहमु तामाङले जानकारी दिएकी छन्। उनले बताए अनुसार महानदी ग्राम पञ्चायतको सबै संसदहरुमा चाढै भिलेज लेभल वाटर एण्ड सेनिटेशन कमिटी गठन गरिने भएको छ।