गेजिङ: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा भारतीय सेनाका अग्निपथ योजनाअन्तर्गत सेवा पुरा गरेका अग्निवीरहरूप्रति सम्मान जनाउँदै सिक्किम पुलिसमा आरक्षण दिने घोषणमाथि सिक्किम राज्य भूतपूर्व सैनिक संगठनले खुशी व्यक्त गरेको छ। सरकारले हैले अग्निवीरहरुलाई कन्स्टेबल पदमा २० प्रतिशत आरक्षण दिने ऐतिहासिक निर्णय गरेपछि संगठनले आभार व्यक्त गरेको हो। भारतीय नौसेनाका सेवानिवृत्त प्याटी अफिसर तथा सिक्किम राज्य पूर्वसैनिक विङ्गका अध्यक्ष विष्णु शर्माले सरकारको उक्त निर्णयलाई युवाहरूको उज्ज्वल भविष्यको ढोका खोल्ने साहसी तथा दुरदर्शी कदम भनेका छन्। उनले अग्निवीरहरूको सेवा, समर्पण र अनुशासनलाई सम्मान गर्दै मुख्यमन्त्रीको नेतृत्वको प्रशंसा गरे। यस घोषणाले सेवा समाप्तपछि अग्निवीरहरूलाई समाजमा पुनःसम्मिलित गर्न सम्मानजनक अवसरहरू प्रदान गर्न मदत पुर्यानउने शर्माले बताए। सिक्किमले फेरि एकपटक राज्यको वीरता, देशभक्ति र मानव क्षमताको कदर गरेको उल्लेख पनि शर्माले गरे। यो निर्णयले सिक्किममा सरकार र जनताबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै शर्माले अन्य राज्यहरूलाई पनि सिक्किमको उदाहरण अनुकरण गर्न आग्रह गरे। उल्लेख्य रहोस्, केन्द्र सरकारको उक्त योजनामाथि भारतीय जनता पार्टी नेतृत्वाधीन राज्य सरकारले अग्निवीरहरुलाई अवकाशग्रहणपछि राज्य सरकारको विभिन्न विभागमा आरक्षण दिने घोषणा गरिसकेका छन्।