रुपन्देही: बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको भारतको जम्मुकश्मिरको पहलगाममा आतंकवादी समूहले गरेको आक्रमणमा परी मृत्यु भएको पुष्टि भएको छ। मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या ज्यान गएको थियो। त्यसपछि ती नेपालीबारे सोधखोज सुरु भएको थियो।
गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकारहरूसँग कुरा गर्दै रुपन्देहीका सुदीप आमासहित जम्मुकश्मिर घुम्न गएको बेला आतंकवादी हमलामा परी मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरे। मृतकका परिवारबाट पनि यो कुरा पुष्टि भएको छ।
पारिवारिक स्रोतका अनुसार आमा रिना, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग शनिबार बुटवलबाट पहलगाममा घुम्न गएका थिए। उनीहरू पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले मंगलबार दिउँसो एक्कासी गोली चलाएपछि सुदीपको ज्यान गएको उनको काका नाता पर्ने बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए।
‘हिउँ खेल्ने ठाउँमा एक्कासी आएर बन्दुकधारीले कुन धार्मिक समूहको हो भन्दै सोधेर गोली होनेपछि सुदीपको ज्यान गएको हो भन्ने छ, धेरै कुरा थाहा भएन,’ वडाध्यक्ष न्यौपानेले भने।
सुदीपको घटनास्थलमै ज्यान गए पनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन्। उनीहरूले भागेर ज्यान जोगाएका हुन्। भाग्ने क्रममा आमा सामान्य घाइते छिन्।