देशको सेवा गर्नु भयो, अब समाजको सेवा गर्नुहोस र अब भूतपूर्व सैनिकहरू पनि राजनीतिमा आउनुपर्छ: अनित थापा
खरसाङ: गोर्खा भूतपूर्व सैनिक वेलफेयर एशोसिएसनद्वारा आफ्नो स्वर्ण जयन्ती अनि वार्षिक साधारण सभा खरसाङको पार्क लोकेसनस्थित गोर्खा समाजिक भवनमा आयोजना गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित रहेका जीटीएको मुख्य कार्यपाल अनित थापाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “देशको सेवा गर्नु भयो, अब समाजको सेवा गर्नुहोस।भूतपूर्व सैनिकहरूले समाजलाई राम्रो दिशामा लैजानु समाजलाई डोर्याउनु पर्छ। सेनामा रहँदा देशको अनुशासित ढङ्गमा सेवा गर्नु भयो। अब समाजलाई सेनामा सिकेको अनुशासन लिएर सेवा गर्नुहोस। तपाईहरु पनि राजनीतिमा आउनुपर्छ। राजनीतिमा गाली खाने अनि गर्ने सँस्कार छ। यसलाई विस्तारै परिवर्तन पनि गर्नु पर्छ। यस्तो संस्कारलाई घरमा बसेर होइन घर भित्र नै पसेर परिवर्तन गर्नु सकिन्छ।”

हाम्रो समाजलाई मुख्यतः शिक्षाको आवश्यकता रहेको बताउँदै थापाले भने, “जातिको शिक्षाको मुद्दा महत्वपूर्ण मुद्दा हो। हामी चिन्हारीको लड़ाई लड्छौ। तर हामीले लड़ाई लड्दा राम्ररी विश्लेषण नगरी नै लडेछौ। भूतपूर्व सैनिकहरूले पनि चिन्हारीको लड़ाई लडेका हुन। हाम्रो गोर्खा जाती संविधानमा हस्ताक्षर गर्ने जाती हो। हामी देशलाई रक्षा गर्ने गोर्खा जाती हौ। हाम्रो चिन्हारी यही हो। हामीलाई राजनैतिक शिकार बनायो चिन्हारीको लडाइँले।”
थापाले थप भने, “हाम्रो पहाड एक समय अन्य देशका राजा रानीले शिक्षा लिने ठाउँ थियो। हामीले अहिले पहाडको प्रचलित दोषारोपणको खेलमा परेर कसैलाई हाम्रो समाजमा आएको ह्रासको निम्ति दोषारोपण गर्नु हुँदैन। दोषारोपणको खेलमा हामीले गुमाउने काम मात्र गर्यौ। उपलब्धी खासै केही भएन। भएको शिक्षा, रोजगार आदि सबै गुमायौँ। आज सैनिक कै कुरा गर्ने हो भने पहाडमा नयाँ सैनिक भन्दा भूतपूर्व सैनिकहरू बेसी छन्।”

अब के गर्ने त? थापाले भने, “हामीले गुमाई पठाएको सबै फर्काई ल्याउनु पर्छ। २०१७ पछि हामीले शान्ति फर्काई ल्यायौ। पहाडमा शान्ति मात्र फर्कँदा यसपाली मात्र हाम्रो पहाडका दुई जनाले यूपीएससी परीक्षा उतीर्ण गरे। पोहोर साल पनि देख्यौँ। पहाडमा स्वच्छ वातावरण बनायौँ भने हाम्रा नानीहरूले राम्ररी नै पढ्छन्।”
यस अवसरमा अनित थापाले भूतपूर्व सैनिकहरूको निम्ति नयाँ कार्यालय भवनको निर्माण गर्ने वचन दिए।