झापा: नयाँ वर्षको पहिलो साता नेपाली चलचित्रले हलहरूमा आशालाग्दो व्यापार गरेका छन्। अहिले हलमा प्रदर्शनरत नेपाली चलचित्र ‘पीताम्बर’, ‘अन्जिला’ ले राम्रो व्यापार गरिरहेका छन्। ‘कर्मा’ भारतीय चलचित्र ‘केशरी च्याप्टर २’ र ‘जाट’ ले भने उल्लेखनीय व्यापार गर्न नसकेको हल सञ्चालकको भनाइ छ। यद्यपि वैशाखको दोस्रो साताबाट नेपाली चलचित्रले पुनः राम्रो गति लिने आशा चलचित्रकर्मीले लिएका छन्। वैशाख दोस्रो सातादेखि चलचित्र ‘भूटान’, ‘खेल’, ‘झिल्को’, ‘उनको स्वेटर’ र ‘जार’ प्रदर्शन हुँदै छन्। पाँच वटा चलचित्रका कथा फरक विषयमा केन्द्रित छन्। यी पाँचै चलचित्रले दर्शकलाई हलसम्म तान्ने अपेक्षा चलचित्रकर्मीको छ।
भूटान:
अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको यस चलचित्रबाट आशा गरिएको छ। चलचित्रमा अभिनेता आचार्य भुटानी आप्रवासीको भूमिकामा देखिएका छन्। भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीको दैनिकी र देशप्रेमको कथामा आधारित चलचित्र वैशाख १२ गते( अप्रिल २५)बाट प्रदर्शन हुँदै छ। चलचित्रमा दयाहाङ राई, पूजा चन्द लामा, ऋचा घिमिरे, जोयश पाण्डे, अदिति प्याकुरेल, हलिउड अभिनेता ब्रुस डर्नलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका लेखक तथा निर्देशक विनोद पौडेल छन्।
खेल:
भूटानसँगै वैशाख १२ गते (अप्रिल २५) चलचित्र ‘खेल’ प्रदर्शन हुँदै छ । चलचित्र हरर, थ्रिलर र सस्पेन्स विधामा बनेको निर्माण पक्षले जनाएको छ। अनुराग प्रधान र आस्था श्रेष्ठ निर्देशित चलचित्र अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका चार साथीको कथामा आधारित छ।
चलचित्रमा चार साथीको विगतका घटना वरिपरि घुमेको कथालाई देखाइएको छ। चलचित्रमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, भोलाराज सापकोटा, किरण श्रेष्ठलगायत कलाकारको अभिनय छ।
झिल्को:
यादवकुमार भट्टराई निर्देशित चलचित्र ‘झिल्को’ मोबाइलको प्रयोगले बालबालिकामा परेको असरको विषयवस्तुमा आधारित छ। वैशाख १९ गते (मई २)देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अहिलेका
पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई प्रस्तुत गरिएको छ।
चलचित्रको कथा तथा पटकथा निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले लेख्नुभएको हो। चलचित्रमा आयुषी ढकाल, सुनील पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठलगायत कलाकारको अभिनय छ।
उनको स्वेटर:
सामाजिक कथामा आधारित चलचित्र ‘उनको स्वेटर’ मा प्रेम, स्मृति र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ। अभिनेता विपिन कार्की र अभिनेतृ मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र वैशाख २६ गते( मई ९)बाट प्रदर्शन हुँदै छ।
चलचित्रका अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङ, सुरज तमुलगायत रहेका छन्। नवीन चौहानको लेखन र निर्देशनमा बनेको चलचित्र आर्टमाण्डुले निर्माण गरेको हो। चलचित्रको ‘काफ्ले’, ‘मखमली’ र ‘फूल’ बोलको गीत अहिले धेरै नै चर्चामा छ।
जार:
साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ उनको कृति ‘विपना कतिपय’ सङ्ग्रहमा सङ्कलित छ। कृतिमा रुद्रमान, हर्षजित र ठुली गरी तीन पात्रको कथा रहेको छ। जस अनुसार चलचित्रमा सौगात मल्ल रुद्रमान, अनुपविक्रम शाही हर्षजित र गीताञ्जली थापा ठुलीको भूमिकामा देखिएका छन्। भागेर अर्को विवाह गरेकी स्त्रीको दोस्रो श्रीमान्लाई पहिलो श्रीमान्ले जार भन्ने प्रचलन छ। यही जार संस्कृतिमा आधारित चलचित्र फेर्री टेल पिक्चर्सले निर्माण गरेको हो। वैशाख (२६मई ९) मा प्रदर्शन हुने चलचित्रका लेखक तथा निर्देशक फुर्वाछिरिङ लामा हुन्।