मंगन: गत ८ अप्रेलदेखि जिल्लाअन्तर्गत विभिन्न ठाउँमा आयोजित सातौं पोषण पखवाडा कार्यक्रमको आज समापन भयो। यसअन्तर्गत मंगन जिल्लाको विभिन्न आइसीडीएस केन्द्रहरूमा पोषण पखवाडा कार्यक्रम आयोजना गरिएको थियो। पन्ध्र दिवसीय यस कार्यक्रमको मुख्य लक्ष्य आवश्यक पोषण अर्थात पौष्टिक आहार ग्रहण गर्ने विषयलाई बढावा दिनु रहेको थियो। नानी जन्मिएपछिको एक हजार दिनसम्म ग्रहण गर्नुपर्ने पौष्टिक आहार बारे जानकारी गराइएको थियो। पौष्टिक आहार उपलव्ध गराउन सकेमा उनीहरूको वजन, उँचाई, मोटोपन साथै कुपोषणको समस्या समाधान हुने कुरामा जोड़ दिएको थियो। समापन कार्यक्रममा आइसीडीएसकी उपनिर्देशक सोनाम ल्हाडेन लाचुङपा, आइसीडीएस केन्द्रका कर्मचारीहरु साथै स्थानीय आमाहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा निर्देशक लाचुङपाले पोषण पखवाडा कार्यक्रम आयोजनको उद्देश्य नानीहरूको स्वास्थ्यबारे जानकारी गराउनु रहेको बताइन्। उनले कुपोषण विरुद्ध लड्न विशेष गरी नानीहरूको जीवनको महत्वपूर्ण पहिलो एकहजार दिनसम्म उच्च प्रमुखता दिनुपर्ने उल्लेख गरिन्। उनले संयंसेवकहरूको समर्पणको खुलेर सराहना गरिन्। पखवाडाको समयमा उत्कृष्ट आंगनवाडी कार्यकर्ता र सामुदायिक स्वास्थ्यकर्मीहरूलाई उनीहरूको प्रतिबद्धता र प्रभावकारी योगदानको लागि सम्मान जनाइयो। लाचुङपाले पोषण जागरूकतामा पुरुषहरूलाई पनि संलग्न गराउनुको महत्त्वमाथि जोड दिइन्। पोषण सामुहिक जिम्मेवारी भएकोले पुरूषवहरुलाई पनि यसमा समावेश गराउनु पर्ने अपील गरिन्।