सोनादा: पश्चिम बङ्गाल खेलकूद किक् बक्सिङ एसोसिएसनको आयोजनामा दशौं दार्जीलिङ जिल्ला किक् बक्सिङ प्रतियोगिता २०२५ गत आइतबारको दिन सिलगढीमा सम्पन्न भएको थियो। जिल्ला स्तरीय अन्तर्गत दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक एवं सिलगढीका विभिन्न क्षेत्रहरुबाट प्रतियोगीहरुलाई समावेश गरी उक्त किक् बक्सिङ प्रतियोगिता आयोजना गरिएको थियो।
उक्त प्रतियोगितामा सोनादाको रातोमाटे निवासी सूचित छेत्रीले पनि भाग लिएका थिए। प्रतियोगितामा आफ्नो प्रतिद्वन्द्वीलाई पछि सार्दै उनले आफ्नो नाममा स्वर्ण पदक हत्याउन सफल बनेका छन्। सूचित छेत्रीको उक्त उपलब्धिले सोनादा रातोमाटे गाउँलाई थप आयाम प्रदान गरी गौरवान्वित बनाएको छ। सूचित छेत्रीलाई हर्षभावमा सोनादाका सम्पूर्ण ग्रामवासीहरूको पक्षबाट हार्दिक बधाईसहित आगामी भविष्यमा पनि यस्ता अनेकौं सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गरिइएको छ। खरसाङका एक विद्यालय डेजिस स्कूलबाट यसै वर्ष दशौं श्रेणीको आईसीएससी परिक्षा दिएका सूचित छेत्रीले परीक्षा परिणामको प्रतिक्षामा छन्। अर्को चाखलाग्दो कुरो के रहेको छ भने दशौं श्रेणीको बोर्ड परिक्षा सकिएपछि सूचित छेत्रीले यसै अप्रेल महिनादेखि खरसाङमा किक् बक्सिङको कक्षा आरम्भ गरेका हुन् अनि कक्षा आरम्भ भएको एक सप्ताहभित्र नै उक्त प्रतियोगितामा अंश ग्रहण गरी जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सक्षम बनेका हुन्। यस उपलब्धिले सोनादा खस-हितकारी समाजबाट पनि शुभेच्छा प्रकट गरिइएको छ भने खरसाङ डेजिस स्कूलका प्रधानाध्यापिका एवं शिक्षक-शिक्षिकावर्गबाट पनि शुभेच्छा एवं शुभाशिष प्रकट गरिएको छ। महेन्द्र छेत्री अनि मुन्नु राईको सुपुत्र सूचित छेत्री हाल खरसाङको डुमाराम बस्तीका निवासी हुन् भने यसै वर्षदेखि हिमाली बोर्डिङ स्कूल खरसाङमा एघारौं श्रेणीमा वाणिज्य विभागमा भर्ना लिइएका छन्। सन्तमेरिजस्थित नागेश्वरी मन्दिर संरक्षण समितिका सदस्य पनि भएको हुनाले सूचित छेत्रीको यस उपलब्धि प्रति नागेश्वरी मन्दिर संरक्षण समितिका संयोजक बिराज थापाले पनि हार्दिक बधाईको साथ उत्तोरोत्तर प्रगतिको कामना गरेका छन्।