काठमाडौँ: भारतका ऊर्जा, पूर्वाधार तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल भ्रमणमा आएका हुन्।
माघ ३० मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतीय ऊर्जामन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। खट्टर दुई दिने भ्रमणमा आगामी मंगलबार नेपाल आइपुग्नेछन्।
ऊर्जामन्त्री खट्टरसँगै भारतीय ऊर्जामन्त्री खट्टरले भारत सरकारको सहयोगमा अप्रिल ९ मा सम्पन्न इनरुवा-बसन्तपुर-बनेश्वर-तुम्लिङटार २०० केभी प्रसारण लाइन अन्तर्गत २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेशन, २२०/३३ केभी बानेश्वर सबस्टेशन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेशन र कोशी करिडोर २२० केभी प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्नेछन्। उद्घाटन संखुवासभास्थित तुम्लिङटार सबस्टेसनबाट हुनेछ।
त्यस दिन उनले भारतद्वारा निर्मित अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउस र बाँध क्षेत्रको भ्रमण गर्नेछन्। सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्ने प्रसारण लाइन निर्माणका लागि स्थापना हुने कम्पनीसँग सम्झौतामा पनि हस्ताक्षर हुनेछ।
भारतीय ऊर्जामन्त्री खट्टरले वैशाख १० गते(२३ अप्रिल) मुस्ताङको मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम छ। ऊर्जा मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाटको तालिका रहेको बताएको छ। ऊर्जामन्त्री खट्टर बुधबार साँझ पशुपतिनाथ मन्दिरको दर्शन गरी स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ।