गान्तोक: एसकेएम सरकारमाथि शैक्षिक संस्थानहरूलाई राजनीतिमा मुछ्ने काम गरिरहेको एसडीएफ प्रवक्ता अरूण लिम्बूले आरोप लगाएका छन्। अर्कातिर, उनले २५ वर्षको शासनमा एसडीएफले शिक्षालाई राजनीतिदेखि टाड़ा राखेको दाबी पनि गरेका छन्। एसडीएफ मुख्यालयमा आज आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लिम्बूले यस्ता आरोप लगाएका हुन्। उनले विशेष रूपमा राज्यका महाविद्यालयहरूमा विद्यार्थी प्रतिनिधि परिषद (एसआरसी) को चुनाउ नगरेकोमा राज्य सरकारलाई कठघरामा उभ्याए। उनले प्रत्येक वर्ष एसआरसीको चुनाउ आयोजन हुनुपर्ने हो तर, २०१९-२० मा अन्तिमपल्ट चुनाउ भएपछि अहिलेसम्म चुनाउ भएको छैन भनी बताए। उनले एसआरसीको चुनाउ नभएकाले विद्यार्थीहरूले धेरै समस्याहरू झेल्न परिरहेको दाबी गरे।
प्रवक्ता लिम्बूले सरकारमाथि कलेजलाई राजनीतिकरण गरिरहेको आरोप लगाए। उनले कलेजहरूमा विद्यार्थीहरूका लागि होइन तर, राजनीतिक कार्यक्रमहरू भइरहेको दाबी गरे। उनले भने, ‘कलेजमा विद्यार्थीहरू भेला गरेर पार्टीका कार्यक्रमहरू भइरहेका छन्।’ अर्कातिर, उनले सरकार एसआरसीको चुनाउ गराउने पक्षमा नरहेको आरोप पनि लगाए। उनले एसआरसी गठन भएपछि विद्यार्थीहरूका प्रतिनिधिहरूले सरकारलाई प्रश्न गर्न सक्छन् भन्ने डरका कारण चुनाउ नगरेको हुन सक्छ भनी बताए।
२०१९ को चुनाउअघि एसकेएमले विद्यार्थीहरूको पक्षमा विभिन्न घोषणाहरू गरेका छन् र विद्यार्थीहरूका प्रतिनिधिहरूले ती घोषणाहरूको कुरा उठाउन सक्छन् भनेर चुनाउ नगराएको हुन सक्ने उनले बताए। उनले शिक्षा मन्त्री र शिक्षा विभागका एसीएसलाई चॉंडोभन्दा चॉंडो एसआरसीको चुनाउ गर्न पहल गरिदिनु पर्ने माग गरे। यसै गरी, उनले मुख्यमन्त्रीलाई पनि विद्यार्थीहयको पक्षमा चिन्तित बनेर यस दिशामा कदम उठाइदिन अनुरोध गरे।