गेजिङ: मानेबुङ-देन्ताम क्षेत्रअन्तर्गत बङ्गतेन सापोङ, सोमबस्ती, गिताङ र कर्मटार क्षेत्रको जनसुरक्षा सुदृढीकरणको दिशामा एक महत्वपूर्ण कदमस्वरूप सोमबस्तीमा नयाँ पुलिस चेकपोइन्टको उद्घाटन गरियो। यस अवसरमा समष्टि विधायक एवं नागरिक उड्डयन विभागीय सल्लाहकार सुदेस कुमार सुब्बा मुख्य अत्थि थिए। उनको बाहुलीबाट चेकपोइन्टको उद्घाटन गरिएको हो। कार्यक्रममा गिताङ कर्मटार प्रादेशिक क्षेत्रका जिल्ला पञ्चायत सदस्य देबीमाया छेत्री, बङ्गतेन सापोङ ग्राम पञ्चायत अध्यक्ष चन्द्रमाया लिम्बू, समष्टि अध्यक्ष दावा नर्बु शेर्पा, युवा संयोजक राजमान गुरूङ, देन्ताम थाना पुलिस प्रभारी आइतहाङ लिम्बू, चेकपोइन्ट प्रभारी मनिषकुमार लिम्बू तथा अन्य स्थानीय जनप्रतिनिधिहरू र सर्वसाधारणको उपस्थिति रहेको थियो। उक्त चेकपोइन्ट बङ्गतेन सापोङ, गिताङ कर्मटार र छेउछाउका सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्य राखेर शुरु गरिएको हो। उद्घाटन समारोहमा बोल्दै विधायक सुब्बाले स्थानीय जनताको सुरक्षा र शान्तिका लागि प्रशासनद्वारा चेकपोइन्ट शुरु गरिएको बताए।
नयाँ चेकपोइन्टले क्षेत्रीय सुरक्षा प्रवर्द्धनमा मात्र नभई, जनताको विश्वास र भरोसा सुदृढ गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।