गान्तोक: नेश्नल फिट इण्डिया अभियानअन्तर्गत आज नाम्ची जिल्लामा फिट इण्डिया सन्डे अन साइकल विथ जर्नलिस्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। कार्यक्रमको उद्देश्य स्वास्थ्य जीवनशैलीलाई प्रोत्साहन गर्नु थियो। कार्यक्रमलाई नाम्ची जिल्लाका जिल्ला सूचना अधिकारी दिप्ती प्रधानले झण्डा हल्लाएर प्रस्थान गराइन्। नाम्ची जिल्लाको खेलकुद प्रशिक्षण केन्द्रबाट शुरू भएको साइक्लिङ सिङ्गीथाङ हेलिप्याडमा पुगेर समापन भएको थियो। भारतीय खेलकुद प्राधिकरणको तत्वावधानमा खेलकूद प्रशिक्षण केन्द्र नाम्चीद्वारा आयोजित यस कार्यक्रममा फिट र स्वस्थ भविष्यको लागि साइकल साथै फिटनेस र प्रदुषणका समाधान मुख्य नारा रहेको थियो। साइकल र्याझली देशको एकहजार भन्दा बढी स्थानहरूमा एकैसाथ आयोजित गरिएको थियो। जसलाई राष्ट्रव्यापी पहलको एक अङ्गको रुपमा लिएको छ। यस अवसरमा नाम्ची जिल्लाका सूचना तथा जनसम्पर्क विभाग कर्मचारीहरू, पत्रकारहरू र नेहरू युवा केन्द्रका स्वयंसेवकहरू सहित कूल ३० जनाले सहभागिता जनाएका थिए। यस प्रकारको नियमित कार्यक्रमले मानिसहरूको शारीरिक गतिविधिमाथि ध्यान केन्द्रित गरेको र नागरिकहरूमा फिटनेसको संस्कृतिलाई बढावा दिने महत्व राखेको छ। यस पहलले फिट इन्डिया अभियानले स्वस्थ, ऊर्जावान राष्ट्र निर्माणमा निरन्तर प्रगति गरिरहने जानकारी गराइएको छ।