गान्तोक: भारतीय सेनाको पूर्वी कमाण्डको तत्वावधानमा त्रि-शक्ति कोरले सिक्किममा आफ्नो प्रकारको पहिलो सैन्य-नागरिक फ्युजन कन्भर्जेन्स क्याप्सुल शुरु गरेको छ। सैन्य र नागरिक सरोकारवालाहरूबीचको तालमेल बढाउने उद्देश्यले यो कार्यक्रम दुई चरणमा सञ्चालन भइरहेको छ।
गत १५ अप्रेल, २०२५ मा शुरु भएको पहिलो चरण १७ अप्रेल, २०२५ मा सशस्त्र बल र नागरिक प्रशासन दुवैका प्रमुख प्रतिनिधिहरूको उत्साहजनक सहभागितामा सफलतापूर्वक समापन भयो।
कार्यक्रमको उद्घाटनमा सिक्किमका मुख्य सचिव, पुलिस महानिदेशक र १७ माउन्टेन डिभिजनका जनरल अफिसर कमान्डिङ लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस क्रममा सिक्किमको सैन्य र राज्य दृष्टिकोण, आपदा व्यवस्थापन रणनीतिहरू, नागरिक आवश्यकता र राष्ट्रिय सुरक्षा दुवैका लागि महत्वपूर्ण दोहोरो-प्रयोग पूर्वाधारको विकासमाथि चर्चा भएको गृह विभागले प्रेस विज्ञप्तिमा बताएको छ।
दोस्रो दिनको कार्यक्रममा लेफ्टिनेन्ट जनरल एसएल नरसिंहन (सेवानिवृत्त) र ब्रिगेडियर अंशुमान नारङ (सेवानिवृत्त) ले भर्चुअल रूपमा सम्बोधन गरेका थिए। उनीहरूले सैन्य-नागरिक फ्युजन, सीमा क्षेत्र विकास र पीपल्स रिपब्लिक अफ् चाइनाको संगठनात्मक संरचना र राष्ट्रिय परिचालन रणनीति आदि जस्ता विषयहरूमाथि प्रकाश पारेका थिए।
तेस्रो दिनको कार्यक्रम अन्तर्गत राज्य प्रशासनका प्रमुख अधिकारीहरूले चोला र डोका ला लगायत रणनीतिक क्षेत्रहरूको भ्रमण गरेका थिए। यो पहलले एकीकृत राष्ट्रिय सुरक्षा, सीमा विकासमाथि एक प्रगतिशील मोडेललाई दर्साउॅंछ र रणनीतिक, सामाजिक-राजनीतिक र विकासात्मक मूल्य राख्दछ भनी बताइएको छ।
दोस्रो चरणको कार्यक्रम २२ अप्रेल देखि २४ अप्रेल, २०२५ सम्म आयोजना हुनेछ। कार्यक्रमको समापन सत्रमा राज्यपाल र मुख्यमन्त्रीको उपस्थिति रहने बताइएको छ।