सोरेङ: सोरेङ जिल्ला चुनाउ कार्यालय र जिल्ला प्रशासनको संयुक्त पहलमा आज शारीरिकरूपमा असक्षम व्यक्तिहरूलाई सिस्टम्याटिक भोटर्सबारे जागरुक गराउने उद्देश्य राखेर कार्यक्रम सम्पन्न गरियो। यसका साथै चुनाउ प्रक्रियामा सहभागितामाथि सचेतना पनि गराइएको थियो। सोरेङ सामुदायिक स्वास्थ्य केन्द्रमा आयोजन गरिएको कार्यक्रमले शारीरिक रुपमा असक्षम व्यक्तिहरूको पहिचान गर्ने र सूचिबाट छुटेकाहरूलाई मतदाता सूचीमा सामेल गराउने विषयमा ध्यान दिइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल डीआर विष्टले कार्यक्रमको लक्ष्यमाथि प्रकाश पारे। उनले शारीरिकरूपमा असक्षम व्यक्तिहरूलाई मतदाता सूचीमा अन्तर्भूक्त गराउन पहिचान आवश्यक रहेको बताए। उनले यस्ता व्यक्तिहरूलाई प्रमाणपत्र प्रदान गर्ने डाक्टरहरु यस प्रकारको कार्यक्रममा उपस्थित हुनपर्ने आवश्यक्तामाथि जोड़ दिए। सोरेङ जिल्लामा ग्रेटर लायन्स भिजन सेन्टरले आँखाका रोगीहरूको जाँच गर्दै शल्यक्रिया पनि गराइ रहेको जानकारी गराए। यस अवसरमा डा. प्रभात राई, डा.रचना राई लगायत विभिन्न रोगका विशेषज्ञहरू सहभागी थिए। यस अवसरमा १०३ जना रोगीहरूले पञ्जीकरण गराएका थिए। जसमा ४२ जना शारीरिकरूपमा असक्षम चिन्हित भएका छन्।