गान्तोक: तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको खेल मैदानमा आयोजित प्रथम अल सिक्किम चिफ मिनिस्टर फुटबल च्याम्पियनशीप २०२२ को फाइनल खेल आज सम्पन्न भयो। आजको फाइनल खेल डेञ्जोङ बोयज बनाम सुमिन एफसीमाझ सम्पन्न भएको थियो। उक्त खेलमा निर्धारित समयसम्म एक एक गोल भएपछि अन्ततः खेल टाइब्रेकरमा परिणत भएको थियो, जसमा डेञ्जोङ बोयज विजयी बन्यो।
गत २९ अगस्तदेखि राज्यको छवटै जिल्लामा शुरू भएको यस प्रतियोगिताबाट उत्कृष्ट छ वटा टोली छनौट गरिने भएको छ। ती ६ वटा टोलीले आगामी दिनमा सम्पन्न हुने सुपर लिगमा खेल्ने अवसर पाउने सिक्किम फुटबल एसोसिएशनका (एसएफए) का उपाध्यक्ष श्याम प्रधानले जानकारी गराएका छन्। उनले थप जानकारी गराए अनुसार छवटै जिल्लामा आयोजित फुटवल प्रतियोगितामा विजयी टोलीलाई लिएर सुपर लिग खेलाइने भएको छ। सिक्किम फुटबल एसोसिएशन र राज्यको खेलकूद एवम युवा मामिला विभागको संयुक्त पहलमा आयोजित आजको यस फाइनल खेलमा मुख्य अतिथिकोरूपमा क्षेत्र विधायक जीटी ढुङ्गेल रहेका थिए। यस प्रतियोगितामा कूल १२ वटा टोलीले सहभागिता जनाएको थियो।