अहमदाबाद: गुजरात टाइटन्सले आईपीएल २०२५-को ३५औं म्याचमा शनिवार दिल्ली क्यापिटल्सविरुद्ध ७ विकेटले जीत हासिल गऱ्यो। यस जीतको साथै गुजरात ७ वटा म्याचमा १० पोइण्ट्स लिएर आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। गुजरातको बराबर पोइण्ट्स रहे पनि दिल्ली क्यापिटल्स नेट रन रेटको आधारमा दोस्रो स्थानमा रह्यो। नरेन्द्र मोदी स्टेडियममा खेलिएको चरम रोमाञ्चक म्याचमा दिल्ली क्यापिटल्सले अन्तिम ओभरसम्म लड़ाइँ गरे पनि म्याच बचाउन सकेन। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनायो। त्यसपछि गुजरातले १९. २ ओभरमा ३ विकेटमा २०४ रन बनाएर म्याच जित्यो। अविजित ९७रन बनाएर गुजरात टाइटन्सलाई जीत दिलाउने विकेटकीपर ब्याटर जोस बटलरलाई प्लेयर अव् द म्याच चयन गरियो। उनले ५४ बलमा ११ वटा चौका र ४ वटा छक्का लगाए। उनले २ वटा क्याच पनि लिए।
म्याचमा पहिला ब्याटिंग गर्ने दिल्ली क्यापिटल्सबाट सबैले असल शुरुवात गरे तर कोही पनि ४० रनसम्म पुग्न सकेनन् । कप्तान अक्षर पटेलले ३२ बलमा २ वटा छक्का र एउटा चौकाको साथ सर्वाधिक ३९ रन बनाए। अन्तिम ओभरहरूमा केही आकर्षक शट्हरू खेलेर अशुतोष शर्माले ३ वटा छक्का र २ वटा चौकाको साथ १९ बलमा ३७ रन बनाए। यी दुईजना बाहेक ट्रिस्टन स्टब्स र करुण नायरले ३१-३१ रन तथा केएल राहुलले २८ रनको योगदान दिए। गुजरात टाइटन्सका बलरहरूमा प्रसिद्ध कृष्णाले सर्वाधिक ४ विकेट लिए । त्यसपछि लक्ष्यलाई पीछा गर्दै गुजरातको शुरुवात असल रहेन अनि कप्तान शुभमन गिल ७ रन बनाएर दोस्रो ओभरमै आउट भए। त्यस समय स्कोर केवल १४ रन रहेको थियो। गिल आउट भएपछि बटलरले जिम्मेवारी लिए अनि साई सुदर्शनसँग दोस्रो विकेटको निम्ति ६० रनको पार्टनरशीप गरे। सुदर्शन २१ बलमा ३६ रन बनाएर आउट भएपछि बटलरले इम्प्याक्ट प्लेयर शेरफाने रदरफोर्डसँग मिलेर तेस्रो विकेटको निम्ति ११९ रनको पार्टनरशीप गरी टीमलाई जीतको नजिक पुऱ्याए। रदरफोर्ड १९औं ओभरमा आउट भए। उनले ३ वटा छक्का र एउटा चौकाको साथ ३४ बलमा ४३ रन बनाए। त्यसपछि बटलरले राहुल तेवतिया (अविजित ११) – सँग मिलेर गुजरातलाई जीत दिलाए।