कालचिनी: गत २१ अगस्तदेखि राजाभात स्पोर्टिङ क्लबको आयोजनामा शुरु भएको गुडविल कप २०२२ को आज अन्तिम फाइनल म्याच भव्य अनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले दिएका छन्| जम्मा १६ वटा उत्कृष्ट टीमहरूलाई लिएर शुरु भएको फाइनल म्याचमा अन्ततः तुलसीपाड़ा वारियर्स एफसी बनाम टिस्टा क्लब गजलडोबाबिच रोमाञ्चक खेल सम्पन्न भएको थियो| म्याचको प्रथम चरणमा नै टिस्टा क्लब गजलडोबाको टीमले तुलसीपाड़ा वारियर्स एफसी विरुद्ध गोल गरेपछि दुवै पक्षबाट कुनै गोल नभई खेलको अन्तसम्म १-० को अन्तरमा टिस्टा क्लब गजलडोबाले म्याच जित्न सफल भएको थियो|

अन्ततः खेलमा नगद ६० हजार सहित विजेता ट्रफी विजेता टीम टिस्टा क्लब गजलडोबालाई प्रदान गरिएको थियो भने उपविजेता टीम तुलसीपाड़ा वारियर्स एफसीलाई नगद ४० हजार सहित ट्रफी प्रदान गरिएको थियो| म्याचमा म्यान अफ द म्याच र म्यान अफ द सिरीजको ट्रफी टिस्टा क्लब गजलडोबाको नाइजीरियन खेलाड़ी क्यासिमेरोलाई प्रदान गरिएको थियो| म्याचमा हाइएस्ट स्कोरर अफ द टुर्नामेन्टको पुरस्कार तुलसीपाड़ा वारियर्स एफसीका खेलाड़ी राज थापालाई प्रदान गरिएको थियो भने बेस्ट डिफेन्स अफ द टुर्नामेन्टको पुरस्कार टिस्टा क्लब गजलडोबाका नाइजीरियन खेलाड़ी रोमिनोलाई प्रदान गरिएको थियो| यसरी नै बेस्ट गोलकिपर अफ द टुर्नामेन्टको पुरस्कार टिस्टा क्लब गजलडोबाका गोलकिपर सौरभ टोप्पोलाई प्रदान गरिएको थियो| गुडविल कप २०२२ सफलरुपमा समापन भएको बताउँदै आज फाइनल खेलमा प्रमुख अतिथिको रुपमा एसएसबी २८ बस्ती बीओपीका कमान्डर ए. शर्मा, लगायत राजाभात चियाबारीको मुख्य प्रबन्धक सुधीर कुमार दास, समाजसेवी अब्दुल जलील खान, जिल्ला खेलकूद सभापति सञ्चय घोष एवम् अन्यान्यको उपस्थिति रहेको थियो| अतिथिमा गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामा एवम् समाजसेवी रञ्जित प्रधानको पनि उपस्थिति रहेको थियो|