गान्तोक: सिक्किममा प्रस्तावित पञ्चायत चुनाउलाई लिएर राज्य चुनाउ आयोगले सामाजिक सञ्जालहरूमा सम्प्रेषित जानकारीहरू सत्य नरहेको स्पष्ट गरेको छ। आयोगले यस्ता अफवाह र झूटा समाचारहरूबाट मानिसहरूलाई दिग्भ्रमित नहुन अपील पनि गरेको छ। राज्य चुनाउ आयोगका सचिवद्वारा जारी प्रेस विज्ञप्तिमा राज्यमा पञ्चायत चुनाउ आगामी २० अक्टोबरमा हुने जानकारी सामाजिक सञ्जालमा प्रचार-प्रसार भइरहेको कुरा आयोगको संज्ञानमा आएको बताएका छन्। पञ्चायत चुनाउलाई लिएर आयोगले यस्तो कुनै बयान अथवा सूचना दिएको छैन भन्दै तिनले सामाजिक सञ्जालका दाबीहरू पूर्ण रूपमा झूटा अनि भ्रम फैलाउने किसिमको रहेको स्पष्ट गरेका छन्।
उनले सही समय आएपछि आचार संहिता सम्बन्धित जानकारी सार्वजनिक गरिने बताएका छन्। उनले जनसाधारणलाई यस्ता अफवाह अनि झूटा समाचारहरूबाट दिग्भ्रमित नबन्ने अपील पनि गरेका छन्।