नयाँ दिल्ली: चेन्नई सुपर किंग्स (सीएसके)-ले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को रहल म्याचहरूका निम्ति चोटग्रस्त गुरजपनीत सिंहको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेवाल्ड ब्रेविसलाई टीममा सामेल गऱ्यो। ब्रेविस २.२ करोड़ रुपियाँमा टीममा सामेल हुनेछन्। ब्रेविसले ८१ वटा टी२० म्याच खेलेर १७८७ रन बनाएका छन्। उनको सर्वोच्च स्कोर १६२ रन रहेको छ। उनले २०२३-मा दक्षिण अफ्रिकाको निम्ति २ वटा टी२० इण्टरनेशनल म्याच खेलेका थिए अनि उनमा आईपीएलको अनुभव रहेको छ। ब्रेविस २०२२ र २०२४-मा मुम्बई इण्डियन्सबाट खेलेका थिए। यस सालको शुरुवातमा उनले एमआई केपटाउनमा पहिलो एसए२० खिताब दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले फाइनलमा १८ बलमा ३८ रन बनाएका थिए। उनी त्यस टुर्नामेण्टमा १८४-को स्ट्राईक रेटले २३० रन बनाएर छैटौं सर्वाधिक रन स्कोरर रहेका थिए। आफ्नो असाधारण हिटिंग अनि असामान्य क्षेत्रहरूमा शट् खेल्ने क्षमताले गर्दा ब्रेविसले विभिन्न फ्रेञ्चाइजी लीगहरूको ध्यान आकर्षित गरेका छन्। उनले क्यारेबियन प्रीमियर लीग (सीपीएल) खेलिसकेका छन् अनि अमेरिकामा हुने मेजर लीग क्रिकेटमा एमआई टीमको प्रतिनिधित्व गर्छन्। ब्रेविस आईपीएल २०२५-को लिलामीमा ७५ लाख रुपियाँको बेस मूल्यको साथ प्रवेश गरेर पनि अनसोल्ड रहेका थिए। उनी गत केही समयदेखि असल फर्ममा छन्। अहिले आफ्नो करियरको शुरुवाती चरणमा रहने २१ वर्षीय यस खेलाड़ीको तुलना एबी डीभिलियर्ससँग पनि गरिन्छ। उल्लेखनीय छ, आईपीएलको जारी सीजनमा चेन्नई सुपर किंग्सको प्रदर्शन हताशाजनक रहेको छ। नियमित कप्तान रुतुराज गायकवाड़ चोटले गर्दा बाहिर भएपछि एमएस धोनीले टीमको अगुवाई गरिरहेका छन्।