सिक्किम पुलिसद्वारा धारा ३७१एफ विरूद्ध आवाज उठाउने व्यक्तिहरू विरूद्ध कानूनी कारबाही शुरू

IMG_20220911_222137.jpg

गान्तोक: सिक्किम पुलिसले दिल्लीको जन्तर-मन्तरमा धरना दिएर धारा ३७१एफ विरूद्ध आवाज उठाउने व्यक्तिहरू विरूद्ध आफ्नो कानूनी कारबाही शुरू गरेको छ। यस सम्बन्धमा सिक्किमे मूलवासी सुरक्षा संघले सदर थानामा प्राथमिकी दर्ता गरेको थियो, जसको आधारमा पुलिसले आफ्नो कारबाही शुरू गरेको हो। सिक्किम पुलिसका डीआईजी, रेञ्ज टाशी वाङ्ग्यालले दिल्लीको जन्तर-मन्तरमा दुईजना व्यक्ति धरनामा बसेर धारा ३७१ एफ विरूद्ध दिएको बयानले सिक्किमेहरू असन्तुष्ट रहेको बताए। यस घटनापछि सिक्किममा अशान्ति फैलिन सक्ने सम्भावनाहरू पनि देखिएको उनले बताए। उनले उक्त व्यक्तिहरूको बयानको भत्सर्ना जनाउॅंदै उनीहरूका बयान तथ्यात्मक रूपमा गलत रहेको बताए।
उनले यस मुद्दामा मानिसहरूलाई प्रतिक्रिया नगरिदिन आग्रह गर्दै यस सम्बन्धमा ९ सेप्टेम्बरका दिन सदर थापामा प्राथमिकी दर्ता भइसकेको र पुलिसले पनि आफ्नो कानूनी कारबाही शुरू गरिसकेको जानकारी गराए। यसै गरी, डीआईडीले यस्तो भिडियो सामाजिक सञ्जालहरूमा सेयर पनि गर्नु नहुने सुझाउ राखे। उनले प्रारम्भिक जॉंचमा यो एउटा बदमासी मात्र रहेको थाहा लागेको र यसमा फसेको खण्डमा समाज नै प्रभावित बन्न सक्ने बताए। यस घटनालाई लिएर गान्तोकमा ऱ्याली र धरना आयोजन भइरहेको विषयमा प्रश्न राख्दा जिल्लाका पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले यो अभिव्यक्तिको स्वतन्त्रता रहेको बताए। डीआईजीले ऱ्यालीहरू ननिकालिदिने अपील गर्दै समाजले यसको ठूलो मूल्य चुकाउन पर्न सक्छ भनी बताए। भाइचुङ भोटियाको धरना प्रदर्शनबारे प्रश्न राख्दा पुलिस अधीक्षकले अहिले यस सम्बन्धमा अनुमति लिने काम भएको आफुलाई जानकारी नरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement