नाम्ची: नाम्चीस्थित सिद्देश्वर धामको १५औं स्थापना दिवसको तयारीलाई लिएर नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राईले समीक्षा बैठक डाके। यसअघि उनले आज धाम परिसरको निरीक्षण गर्दै तयारीबारे जायजा लिए। यस अवसरमा उनले विभिन्न टास्क फोर्सलाई दिएको जिम्मेवारी र तयारीबारे जानकारी लिए। उक्त सप्ताहव्यापी समारोहको तयारीलाई लिएऱ सम्बन्धित निकाय र प्रबन्धन समितिले युद्धस्तरमा कार्य गरिरहेको छ। विधायक राईले तयारीबारे जायजा लिएपछि सन्तुष्टि जाहेर गरे। यसका साथै उनले धाम परिसरमा सरसफाई साथै फोहोर प्रबन्धनबारे पनि जानकारी लिएका छन्। यस अवसरमा विधायक राईले सम्वन्धित निकायका अधिकारीहरूलाई तयारी कार्यक्रम समयअघि नै पूरा गर्ने निर्देश दिए। विधायक राईले धाम परिसरमा व्यवस्था कायम राख्न सम्वन्धित निकायले एक अर्कासँग तालमेल राख्नुपर्ने सुझाउ दिए। विधायक राईले सिद्धेश्वर धामको १५औं स्थापना दिवसको अवसरमा आउने मुख्य अतिथि, विशिष्ट अतिथिहरूको स्वागतमा कुनै प्रकारको कमी हुन नदिन सम्पूर्ण तयारी राख्नुपर्ने थप निर्देश दिए। निरीक्षणको क्रममा अतिरिक्त जिल्लापाल त्रिसाङ तामाङ, महकुमा अधिकारी शरण कालिकोटे लगायत विभिन्न विभागीय अधिकारीहरु पनि सामेल थिए।