गान्तोक: पाकिम जिल्लाअन्तर्गत कार्थोक आर्चेरी मैदानमा सम्पन्न भइरहेको २३औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज ग्रीन तारा बनाम ड्रक यार्गे तोदेबीच सम्पन्न भयो। यसअवसरमा सिम्फेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटिया मुख्य अतिथिकारूपमा उपस्थित थिए। साथमा जिल्ला पञ्चायत अध्यक्ष लाडेन ल्हमू भोटिया सामेल रहेका थिए। पाकिम जिल्ला आर्चेरी एसोसिएशनले जिल्ला प्रशासनको सहकार्यमा आयोजन गरेको प्रतियोगिताको उद्देश्य नशामुक्त भारत अनि नशामुक्त सिक्किम रहेको छ। अभियानअन्तर्गत कार्यक्रमको आयोजना गरेको हो। आजको पहिलो क्वाटरफाइनल खेलमा ग्रीनताराले ड्रक यार्गे तोदेलाई पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्न सफल बन्यो। यस प्रतियोगितमा ग्रीनताराका खेलाडी मिङमा छिरिङ भोटिया र ड्रक यार्गेका खेलाडी मिनिमा भोटियालाई म्यान अफ् द म्याच घोषित गरियो। यसअवसरमा आयोजक समितिले अन्य पारम्पारिक खेलहरु डार्ट र गुड्डी उडाउने प्रतियोगिता पनि आयोजना गरिरेहको छ। जसमा सबै उमेरकाहरूलाई अवसर प्रदान गरिएका छन्। यसअवसरमा स्वास्थ्य एवं परिवार कल्याण विभागको पहलमा स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो। जसमा रोगीहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरियो। कार्यक्रममा मुख्य अतिथि भोटियाले आर्चेरी खेल मैदान परिसरमा स्वयं सहायता समूहद्वारा राखिएका विभिन्न प्रकारको स्टलहरूको पनि अवलोकन गरे। यस प्रतियोगितामा विजेता दललाई नगद ३ लाख र उपविजेता दललाई २ लाख सहित ट्फी प्रदान गरिनेछ।