गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज देन्ताम महकुमा कार्यालय परिसरमा आयोजित शिक्षण प्रशिक्षण सामग्री प्रदर्शनी तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रममा भाग लिए। कार्यक्रममा देन्ताम महकुमाअन्तर्गत ३३ विद्यालयहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नवीन र विद्यार्थी केन्द्रित शिक्षण, प्रशिक्षण सामग्रीहरुको प्रदर्शनी गरेका थिए। प्रदर्शनीको उद्देश्य शिक्षकहरूलाई अझ प्रभावकारी, आकर्षक र विद्यार्थी-केन्द्रित शिक्षण सशक्त बनाउनु रहेको थियो। गेजिङस्थित डीआईइटी कलेजका दुई शिक्षक प्रतियोगिताको निर्णायक थिए। देन्ताम महकुमा अधिकारी एनके कार्कीले प्रतियोगिताका विजेताहरूको घोषणा गरे। यसअन्तर्गत प्रथम श्रीनागी प्राथमिक पाठशाला, निम्न सङखु प्राथमिक पाठशाला र तेस्रो सोम बस्ती जुनियर हाई स्कूल बने। शिक्षामा नवप्रवर्तनलाई जोड़ने प्रयासका लागि सांसद सुब्बाले सांसद कोषको तर्फबाट अनुदानको घोषणा गरे। जसमा प्रथम, दोस्रो र तेस्रो पुरस्कार विजेतालाई क्रमैले ५ लाख, ४ लाख र ३ लाख रुपियाँको प्रदान गरियो। कार्यक्रममा देन्ताम वरिष्ठ माध्यमिक विद्यालय र हियाङथाङ वरिष्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू साथै सहभागी स्कूलका शिक्षकहरुको उपस्थिति थियो। मुख्य अतिथि सुब्बाले शिक्षाको उद्देश्य युवाहरूलाई शिक्षित गर्नका साथै हरेक क्षेत्रमा तयार पार्नु रहेको बताए। उनले शिक्षाले पाठ्यपुस्तकहरूभन्दा बाहिर गएर खोज, आलोचनात्मक सोच र रचनात्मकतालाई बढावा दिनुपर्ने उल्लेख गरे।