खरसाङ: भाषा विचार प्रकटको साधन मात्र होइन तर भाषा आफैमा विचार हो। त्यसैले नेपाली भाषा अनिवार्य प्रयोगको अभियान कार्यलाई सबैले सक्रिय र सकरात्मक रुपमा लिएर अघि बढ्नु पर्ने आह्वान् युवा शक्तिको केन्द्रीय प्रवक्ता अनित खातीले गरेका छन्। उनले जीटीए क्षेत्रमा नेपाली भाषा अनिवार्य रुपमा प्रयोग गरिनु पर्ने युवा शक्तिको अभियान अन्तर्गत नेपाली भाषाको सबैले सक्रिय रुपमा प्रयोग गरेर सबैलाई सचेतन गराउने आह्वान् गरेका छन्। उनले एक भिडियो जारी गर्दै पहिलो वैशाखको कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापाले जीटीए क्षेत्रमा रहेको सबै दोकान पाटहरु, कार्यालयहरु, होटल र होम स्टेहरुतिर नेपाली भाषामा बोर्डहरु अनिवार्य रुपमा लेखिनु पर्ने घोषणा गरेको र यस कार्यको लागि युवा शक्तिलाई पनि जिम्मेवारी दिइएको जानकारी गराएका छन्। उनले नेपाली भाषा अनिवार्य रुपमा प्रयोगको लागि युवाहरु सक्रिय भएर लागि परेको र हामीले हाम्रो क्षेत्रमा आफ्नै मातृभाषा प्रयोग गरेर सबैमा सचेतना ल्याउनु पर्ने आह्वान् गरेका छन्। प्रवक्ता अनित खातीले नेपाली भाषाको प्रयोगमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले मात्रै होइन तर सबै कवि, साहित्यकारहरु, गीतकारहरु, युवाहरु सबै मिलेर लागि पर्नु पर्ने आह्वान् गरेका छन्। उनले भाषा बाँचे जाति बाँच्छ भन्ने उद्देश्यका साथमा यो अभियानमा सबैजना सक्रिय भएर सकरात्मक रुपमा अघि बढ्ने सबैमा आग्रह पनि गरेका छन्। खातीले नेपाली भाषा पहिलेबाटै संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको छ र अब हामीले नेपाली भाषा प्रयोगलाई अनिवार्य रुपमा अघि बढाएर लानु पर्ने आवश्यकता किनभने नेपाली भाषा हाम्रो मातृ भाषा हो भनी बताएका छन्। उनले समाजका सबै वर्गहरु विधेष युवाहरुलाई अनुरोध गर्दै नेपाली भाषालाई सक्रिय रुपमा प्रयोग गरिनु पर्ने बताएका छन्।