दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष एवं जीटीए मुख्य कार्यपाल अनित थापाको पहलमा सदर ४ समष्टि अन्तर्गत भक्ते बस्ती हुँदै आर्य चियाबारीदेखि सिद्राबुङसम्म पुग्ने सड़कको आजदेखि निर्माण कार्य आजदेखि शुरु भएको छ। विगत केही वर्ष अघि धेरै राजनैतिक दलहरूले उक्त बाटोको निर्माण प्रक्रिया शुरु गरेका थिए तर त्यस बाटोलाई लथालिङ्ग अवस्थामा छोडेको र बाटो पूर्ण रुपले नबिएको कारण साधारण जनतालाई यातायात गर्नमा धेरै असुविधा भइरहेको थियो।

जनताको यसै समस्यालाई ध्यानमा राख्दै विगत चुनावको परिणामलाई पर सार्दै जीटीएको मुख्य कार्यपाल अनित थापाले उक्त बाटो बनाउने जिम्मा लिएका थिए भनी जानकारी प्राप्त भएको छ। सदर ४ समष्टि कन्भेनर पारस छेत्रीले यसबारेमा भने, ‘हामी जनताको सेवक हौं, चुनावको परिणामसँग हामी सरोकार राख्दैनौं, जनताको सेवा गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सदैव तत्पर रहन्छ। धेरै वर्षसम्म आधाकल्चो अवस्थामा रहेको बाटो बनाउने जिम्मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले लिएको छ। हामी भाषणमा होईन कर्ममा विश्वास राख्नेहरु हौं। अब यो बाटोले नयाँ रुप लिनेछ।”

सड़क निर्माणको आज प्रथम दिनमा सदर ४ समष्टि युवा शक्ति अध्यक्ष एवं १७ नम्बर वार्डका पार्षद नितेश गुरुङ, दार्जिलिङ महकुमा समितिको सांगठनिक सचिव नरेश प्रधान, नारी शक्ति केन्द्रीय समिति सदस्या सोनाम शेर्पा, पार्टीका अन्यान्य नेतृत्वगण, कार्यकर्ता लगायत क्षेत्रवासी उपस्थित रहेका थिए। आफ्नो क्षेत्रमा सड़क निर्माणको शुरुवात आजदेखि भएको देखेर हर्षित बन्दै क्षेत्रवासीले यस महत कार्यको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष एवं जीटीए मुख्य कार्यपाल अनित थापा, सदर ४ समष्टि कन्भेनर पारस छेत्री, युवा शक्ति अध्यक्ष नितेश गुरुङ लगायत सम्पूर्ण केन्द्रीय, महकुमा अनि समष्टि समितिका नेतृत्वगणप्रति आभार प्रकट गरेका छन्।