मालबजार: ‘भाजपाले भाषण दिन्छ, दिदीले राशन दिन्छ, भाजपाले वाचा गर्छन् र हामी काम गर्छौंl भाजपाले चियाबारी अधिग्रहणको कुरा गर्यो, तर केही गरेनन्, ती बन्द चियाबारीहरू खोल्ने व्यवस्था राज्य सरकारले गरेको छ’, भाजपाको खरो आलोचना गर्दै आइतबार तृणमूल कांग्रेसका अखिल भारतीय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले मालबजार शहरको कलोनी मैदानमा चिया श्रमिकहरूको खुल्ला र्यालीमा भाजपालाई आफ्नो हुंकार सुनाए| उनले राज्यको समग्र विकासबारेमा प्रकाश पार्दै चिया श्रमिकहरूको लागि विभिन्न परियोजनाको घोषणा गर्दै भने, ‘उत्तर बङ्गालका सबै श्रमिकहरूलाई आउँदो तीन महिनाभित्र राज्यको श्रम विभागबाट परिचय पत्र दिइनेछl’

उनले अझ भने, ‘आउँदो ६ महिनाभित्र नानीहरूको निम्ति क्रेच हाउस निर्माण गरिनेछ| जहाँ ५० जना नानीहरू रहनेछन्| आमाहरूले नानीहरुलाई काखमा लिएर पत्ती टिप्नु पर्दैन| अब पत्ती टिप्दा बालबालिकालाई क्रेच हाउसमा राख्न सक्नेछन्|’ उनले भने, ‘पीएफ अनि ग्रेज्युटी राज्य सरकारको जिम्मेवारी होइन| यो केन्द्र सरकारको जिम्मेवारी हो| पीएफ अनि ग्रेज्युटी विषय लिएर प्रत्येक चियाबारीमा आन्दोलन गरिनेछl’ आइतबार अखिल भारतीय महासचिव तथा सांसद अभिषेक ब्यानर्जी साढे दुई बजीतिर सिलगढीबाट सडक मार्ग भएर माल कालोनी मैदानमा आइपुगेका थिए| कार्यक्रममा राज्यका कानुन तथा श्रम मन्त्री मलय घटक, उत्तर बङ्गाल विकास विभाग मन्त्री तथा राज्य मन्त्री उदयन गुहा,मन्त्री बुलुचिक बडाइक, सिलगढी मेयर गौतम देव, तृणमूल कङ्ग्रेस नेता महुआ गोप, तृणमूल कांग्रेस मजदुर नेता राजेश लाकडा, जोसेफ मुण्डा, नकुल सोनार आदिको उपस्थिति रहेको थियो|









