नयाँ दिल्ली: भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले दक्षिण अफ्रिकाको पोचेफस्ट्रममा पट इन्भिटेशनल ट्रयाक प्रतियोगिता जीतको साथ आफ्नो सत्रको शुरुवात गरे। दुईपल्टका ओलम्पिक पदक विजेता नीरजले बुधवार वर्ल्ड एथलेटिक्स कण्टिनेण्टल टूर च्यालेञ्ज प्रतियोगितामा ८४.२५ मीटरको दूरीमा भाला फ्याँकेर ६ खेलाड़ीहरूबीच भएको स्पर्धामा शीर्ष स्थान हासिल गरे। दक्षिण अफ्रिकाका २५ वर्षीय डौव स्मिट ८२.४४ मीटरको सर्वश्रेष्ठ थ्रो गरी दोस्रो स्थानमा रहे। नीरजको यो प्रदर्शन उनको व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन ८९.९४ मीटरभन्दा चाहिँ धेरै कम्ती हो। स्पर्धामा नीरज र स्मिटले मात्र ८० मीटरको दूरीलाई हासिल गर्न सके। दक्षिण अफ्रिकाका अन्य एक खेलाड़ी डंकन रोबर्टसन ७१.२२ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ तेस्रो स्थानमा रहे। नीरज अहिले आफ्नो नयाँ प्रशिक्षक चेक रिपब्लिकका जान जेलेजनीको मार्गदर्शनमा पेचेफस्ट्रममा अभ्यास गरिरहेका छन्। जेलेजनी तीनपल्टका ओलम्पिक च्याम्पियन र वर्ल्ड रेकर्ड धारक हुन्। नीरजले १६ मईमा दोहा डायमण्ड लीगको साथ एलीट प्रतियोगिताहरूमा आफ्नो अभियान शुरु गर्नेछन्।