दार्जिलिङ: नेपाली भाषा हाम्रो मौलिक पहिचान हो भन्ने विश्वासका साथ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत पर्ने सबै होटेल, कार्यालय, पसल तथा अन्य व्यावसायिक स्थलहरूमा नेपाली भाषामा साइन बोर्ड अनिवार्य रूपमा राख्नु पर्ने माग गर्दै युवा शक्तिको अगुवाईमा एक विशेष सभा दार्जिलिङमा सम्पन्न भएको छ। भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई उद्देश्य बनाएर गरिएको यस पहललाई व्यापक जनसमर्थन मिलिरहेको छ। दुई चरणमा सम्पन्न भएको उक्त सभाको पहिलो चरणमा युवा शक्तिका पदाधिकारीहरू र दार्जिलिङका व्यवसायीहरूबीच गहिरो छलफल भयो। उक्त बैठकमा सहभागी व्यवसायीहरूले विभिन्न स्थानहरूमा अंग्रेजी वा अन्य भाषामा मात्रै साइन बोर्ड प्रयोग हुँदा नेपाली भाषाको महत्व ओझेलमा परेको भन्दै यस्तो अवस्थालाई अन्त्य गर्नु पर्नेमा जोड दिएका थिए। युवा शक्तिका पदाधिकारीहरूले एक महिनाभित्र प्रत्येक व्यापारिक तथा सार्वजनिक स्थलहरूमा अनिवार्य रूपमा नेपाली भाषामा साइन बोर्ड राख्नु पर्ने स्पष्ट माग गरेका छन्।
दोस्रो चरणको सभा जीटीएका अधिकारीहरूसँग गरिएको थियो, जसमा जीटीएको चेयरम्यान अञ्जुल चौहान, दार्जिलिङ नगरपालिका चेयरम्यान दिपेन ठकुरी लगायत प्रमुख सरकारी अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। सभामा च्याम्बर अफ् कमर्स, विभिन्न व्यवसायिक संगठनहरु जस्तै – होटेल व्यवसायी, मेडिकल, हार्ट वेयर, सेलुन, टिम्बर, दोकानेहरु, ज्वेलरी लगायतका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सभामा युवा शक्तिका केन्द्रीय अध्यक्ष अमृत योञ्जनले सशक्त रूपमा आफ्नो माग प्रस्तुत गर्दै भने, “हाम्रो भाषा, हाम्रो आत्मा हो, यसलाई सार्वजनिक स्थानहरूमा सम्मान दिन अब ढिला गर्नु हुँदैन। साइन बोर्डमा नेपाली भाषाको प्रयोग अब ऐच्छिक होइन, अनिवार्य हुनुपर्छ।”
जीटीलका चेयरम्यान अञ्जुल चौहानले नेपाली भाषाको संरक्षणप्रति प्रशासन प्रतिबद्ध रहेको जनाउँदै, “युवा शक्तिको माग उचित छ। हामी यसलाई नीति निर्माणको तहमा लैजानेछौं,” भनी प्रतिक्रिया दिए। नगरपालिकाका चेयरम्यान दिपेन ठाकुरीले समेत स्थानीय निकायको तर्फबाट आवश्यक सहयोग र कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता जनाए।

सभाको निष्कर्ष स्वरूप जीटीए क्षेत्रका सम्पूर्ण व्यवसायिक स्थलहरूमा नेपाली भाषामा स्पष्ट देखिने र व्यवस्थित साइन बोर्ड अनिवार्य गर्नु पर्ने विषयलाई प्राथमिकताका साथ अगाडी बढाउने निर्णयमा जोड दिइएको छ। युवा शक्तिले आगामी दिनहरूमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम, अनुगमन तथा अनिवार्य कार्यान्वयन सुनिश्चित गर्न अभियान पनि सञ्चालन गर्ने जानकारी दिएको छ। यो कदमले स्थानीय भाषा र पहिचानलाई सम्मान गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।