खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिमलबारीमस भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको गेट सभा सम्पन्न भएको छ। उक्त गेट सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन सिमलबारी युनिट कमिटीको संयोजक सुरेश बराइकको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त गेट सभा सिमलबारीमा युनिट कमिटी गठन गर्नलाई सर सल्लाह साथै बगानमा वेतनको ढिलाईलाई लिएर साथै बगानमा कतिपय सहुलियतहरु नदिएको विषयमा चर्चा परिचर्चा गर्दै आयोजना गरिएको थियो। उक्त गेट सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय उप सभापति हरिहर आचार्य, केन्द्रीय सदस्य प्रकाश सन्यासी, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, महासचिव भक्तिमान तामाङ, पूर्व सचिव कल्याण बागदास र संयोजक सुरेश बराइक आदिले वक्तव्य राखेका थिए। वक्ताहरुले सिमलबारीमा युनिट कमिटी गठन गर्नु पर्ने आवश्यकतामाथि जोड दिएका छन्।

यस विषयमा आगामी २० अप्रेलमा गाडीधुरामा सभा गरिने भएको जानकारी गराइएको छ। त्यसरी नै बगानमा पाउनु पर्ने सहुलियतहरु विषय, बगानमा वेतनको ढिलाई लगायत बगानको विभिन्न समस्याहरु समाधान गरिने विषयमा साथै श्रमिकहरुको हितमा युनियनले सदैव कार्य गरिरहेको वक्ताहरुले वक्तव्यमा राखेका थिए। यस गेट सभामा युनियनको केन्द्रीय र महकुमा समिति साथै सिमलबारी युनिट कमिटीको प्रतिनिधिहरु र चियाबारी श्रमिकहरु उपस्थित रहेका थिए।