राबोङ: दक्षिण सिक्किमको बर्फुङ्ग निर्वाचन क्षेत्रअन्तर्गत राबोङ स्थित छो-जो लेकमा गत ११ अप्रेलदेखि शुरू भएको ६ दिवसीय डिस्कभर राबोङ छो-जो फेस्ट २०२५ को आज विविध सांस्कृतिक कार्यक्रम एवं प्रथम मुख्यमन्त्री स्वर्णकप भलीबल प्रतियोगिताको फाइनल खेल तथा अन्य साहसिक खेल गतिविधिहरूका साथ सम्पन्न भयो। समापन कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। मुख्यमन्त्रीका साथमा उनकी धर्मपत्नि श्रीमती कृष्णा कुमारी राई, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्याक्ष राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यगण, क्षेत्र विधायक तथा समारोह आयोजक समितिका प्रमुख संरक्षक रिकसल दोर्जी भोटिया, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र विकास बस्नेत, विभिन्न विभागका अध्यक्ष एवं सल्लाहकारगण, समारोह आयोजक समितिका सदस्यहरू साथै अन्यको उपस्थिति रहेको थियो।
कार्यक्रममा मुख्यमन्त्री तामाङलाई समारोह आयोजक समितिको पक्षबाट अभिनन्दन जनाइयो। यसै अवसरमा प्रेस क्लब अफ सिक्किम र सूचना तथा जनसम्पर्क विभागको संयुक्त तत्वावधानमा आयोजना हुने मिडिया कन्क्लेभको लोगो पनि मुख्यमन्त्रीको बाहुलीद्वारा अनावरण गरियो। यसको साथै विभिन्न व्यक्तित्वहरूलाई सम्मान पनि जनाइयो भने मुख्यमन्त्री विवेकाधीन कोष मार्फत विभिन्न व्यक्तित्वहरूलाई अनुदान राशि प्रदान गरियो।
समापन अवसरमा अन्तर सिक्किम र मुख्यमन्त्री स्वर्णकप भलीबल प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको थियो। कार्यक्रमको समापनपछि सम्माननीय मुख्यमन्त्रीको बाहुलीद्वारा सबै खेलाडीहरूलाई पारितोषिक वितरण गरियो।
साँझको कार्यक्रममा सिक्किम फाईट नाईट अन्तर्गत एमएमए र सुन्दरी प्रतियोगिता लगायत चर्चित गायिका मिलन नेवार, राजनराज शिवाकोटी र बलिउड गायिका कनिका कपुरद्वारा साङ्गीतिक प्रस्तुति रहेको थियो।