गान्तोक: नाम्फिङ ग्राम पञ्चायत क्षेत्रअन्तर्गत विभिन्न गुँमा भारत सरकारको पोषण पखवाडा कार्यक्रम गरियो। उक्त अभियानबारे जागरुकता गराउने उद्देश्य राखेर गरिएको कार्यक्रममा बालबालिकाको पहिलो एक हजार दिनको महत्व, कुपोषण व्यवस्थापन र स्वस्थ जीवनशैलीको प्रवर्द्धनमाथि जोड़ दिइएको थियो। यस अवसरमा पञ्चायत अध्यक्ष अर्पण सुब्बा मुख्य अतिथिका रुपमा उपस्थित थिए भने जिल्ला, वार्ड पञ्चायत प्रतिनिधिहरु, विभिन्न विभागीय अधिकारीहरु र संघ संस्थाका प्रतिनिधिहरु पनि सहभागी थिए। मुख्य अतिथि सुब्बाले आँगनवाडी कार्यकर्ताहरू र सहायकहरूको सेवाको प्रशंसा गर्दै उनीहरूलाई आगामी कार्यका लागि प्रोत्साहित गरे। यसबीच गैरसरकारी संस्था सिक्किम हिमालयनद्वारा आँगनबारी केन्द्रहरुलाई खेलकुद सामग्रीहरु वितरण गरिएको थियो। यसअवसरमा बाल विकास परियोजना अधिकृत लक्ष्मण तामाङले बालबालिकाको पहिलो एक हजार दिनको स्वास्थ्य, वृद्धि र मानसिक विकासका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै यसको दीर्घकालीन प्रभावबारे जानकारी दिए। अर्का अधिकारी सोफिया लेप्चाले पोषिलो आहारको आवश्यकता र कुपोषण व्यवस्थापनबारे जागरुकता गराइन्। सुपरभाइजर मिस जेरीलीना लेप्चाले नियमित स्वास्थ्य परीक्षण र वृद्धिको निगरानीको महत्त्वमा जोड दिइन्। विद्यालयका प्रधानाध्यापक बीआर सुब्बाले आँगनवाडी कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै बाल संरक्षण र सामुदायिक स्वास्थ्य सुधारका लागि निरन्तर काम गर्ने प्रेरणा दिए। कार्यक्रममा पोषिलो खाद्यवस्तु, हरियो सागसव्जीको प्रयोग तथा बालबालिकाको वृद्धि परीक्षण कार्यक्रम पनि राखिएको थियो।